पोखरा,फागुन २४ ।
आगामी वैशाखदेखि पोखराको लेकसाइडमा गर्न लागिएको कोटीहोमका लागि आयोजक मानव सेवा फाउण्डेशनले शुक्रबार लेकसाइडमा भूमिपूजन गर्नेक्रममा झडप भयो । झडपमा परी पोखरा महानगरपालिकाका नगर प्रहरी र मानव सेवा फाउण्डेशनका स्वयंसेवक गरी करिब २ दर्जनजति घाइते भएका छन् ।
कोटीहोम नाममा जबरजस्ती भूमिपूजन गर्न खोज्दा असहज परिस्थिति सृजना हुन पुगेको भन्दै पोखरा महानगरले शुक्रबार साँझ विज्ञप्ति जारी गरी यथास्थितिमा कोटीहोम हुन नसक्ने स्पष्ट पारेको छ ।
महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नियोजित रूपमा घटना घटाउन उद्धत व्यक्तिहरूको पहिचान गरी कानूनबमोजिम कडा कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्दछ । पोखरा क्षेत्रका ऐतिहासिक महत्वका चौतारीमा रहेका सयौँ वर्ष पुराना वरपीपलका रुखहरू मास्ने कार्यमा समेत संलग्न मानव सेवा फाउन्डेसनले अनुमतिबिना वैशाखबाट गर्ने भनिएको कोटिहोम यथास्थितिमा हुन नसक्ने कुरा महानगरपालिका पुनः स्पष्ट पार्दछ ।’
साथै, पोखरा महानगरपालिका सबै धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व र जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै महानगर क्षेत्रमा प्रचलित कानूनविपरीतका कुनै पनि कार्यहरू सञ्चालन नगर्न/नगराउन सम्बन्धित सबैमा आह्वान समेत गरिएको छ ।
उच्च अदालत पोखरामा विचाराधीन रहेको कोटीहोमसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आइरहेको स्मरण गराउँदै धर्मका आवरणमा गुण्डागर्दी शैलीमा रड, लाठी र हतियारसहित पोखरा बाहिरका मानिसहरू समेत जम्मा गरी सांघातिक आक्रमणमा उत्रनु निन्दनीय कार्य हो भनिएको छ ।
‘जनप्रतिनिधिमाथि अशिष्ट, अमर्यादित, उत्तेजक र भ्रामक अभिव्यक्तिहरू दिएर सुरुवातबाटै धार्मिक सहिष्णुतालाई भड्काउने, धर्मका नाममा समाजलाई विभक्त तुल्याउने, सनातन आस्थाप्रति घृणा फैलाउने, सदिऔँदेखि मिलेर शान्तिपूर्ण रूपमा बसिरहेको पोखराको एकता र शान्ति खलबल्याउने कुत्सित मनसाय साथ गरिएका यस्ता हर्कतहरु कानुनतः दण्डनीय छन्,’ विज्ञप्तिमा छ, ‘विवादास्पद छविका विजय भण्डारीको उक्साहटमा परिचालित समूहको आक्रमणमा परी ११ जना महानगर प्रहरीहरू र केही अन्य व्यक्तिहरू समेत घाइते भएका छन् । टाउको, अनुहार र शरीरका विभिन्न भागहरूमा गम्भीर चोट लागेका नगर प्रहरीहरुको मेट्रो सिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । महानगरपालिका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नियोजितरूपमा घटना घटाउन उद्धत व्यक्तिहरूको पहिचान गरी कानुन बमोजिम कडा कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्दछ ।’
झडपमा परी फाउण्डेशनतर्फबाट करिब १५ जना घाइते भएको फाउण्डेशनका मिडिया संयोजक लेखराज ढकालको दाबी छ । ती घाइतेको पनि मेट्रो सिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।फाउण्डेशनले आगामी १७ वैशाखदेखि लेकसाइडको वाराहीघाट र क्याम्पिङचौरमा कोटीहोम गर्दैछ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)