बुटवल,फागुन २३ ।
बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनशिपको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् ।
खस्यौली स्नुकर क्लब बुटवलमा भएको खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७-५ अंक अन्तरले पछाडि पार्दै उपाधि जितेका हुन् ।
बेस्ट अफ १३ का आधारमा खेलाइएको खेलमा शुरुका ५ सेट सोम लामाले लगातार जितेका थिए । त्यसपछि सरोजले लगातार ४ सेट जितेका थिए । दशौं सेट सोमले जितेर अग्रता बढाउदा एघारौं सेट सरोजले जितेपनि बाह्रौं सेट जितेर सोमले उपाधीमाथि कब्जा जमाउन सफल भएको नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।
नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि सुरु भएको प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।
प्रतियोगिताको उपाधी विजेता सोम लामाले ३ लाख ३ हजार, उपविजेता सरोजले एक लाख एक हजार, हाइएस्ट ब्रेकर सोम लामाले ५५ हजार रुपैयाँ, सेमिफाइनलमा पुगेका बुटवलका रेगन श्रेष्ठ र काठमाडौंका वाङ चु तामाङले नगद ३०/३० हजार पाए ।
बिजेतालाइ बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेय ,नगर प्रवक्ता शिव राना लगायतले पुरस्कृत गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)