Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु

लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु

  • 927
    SHARES

  • लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु

    अर्घाखाँची,फागुन १० ।

    लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका हुन। सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गरिएको छ।

    पूर्व विद्यार्थिको तर्फबाट मुख्यमन्त्री आचार्यले बुवा–आमाको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको टिकाराम– तारादेवी अक्षयकोष स्थापना गरेका छन। यो अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा पुरस्कृत गरिनेछ।

    यस्तै मेरो विद्यालय मेरो दायित्व अभियानको कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानको शुभारम्भ गरेका हुन्।‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन जरुरी छ। यो अभियानमा पूर्व विद्यार्थीको अतुलनीय र रचनात्मक योगदानको खाँचो छ’, मुख्यमन्त्री आचार्यले भने, ‘सामुदायिय विद्यालयलाइ नमुना बनाउनको लागि यो अभियान कोशेढुंगा सावित हुनेछ।’

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल उच्च बनाउन मेरो विद्यालय मेरो दायित्व अभियानले सहयोग पुर्‍याउने बताए।

    ‘सामुदायिक विद्यालय धेरै व्यक्तित्व जन्माएको छ। धेरै छलफल गरेर पढेको विद्यालय प्रतिको दायित्व के हुने भनेर चालू आवको नीति तथा कार्यक्रममा समावेश गरेर राख्यौं। अब नियमित रुपमा अभियान चल्छ। प्रदेश सरकारले अभियान अगाडि बढाउने छ’, उनले भने, ‘स्वदेश तथा विदेशमा रहनुभएका पूर्व विद्यार्थिले शैक्षिक र भौतिक सुधारको लागि आजको दिनले ढोका खोलेको छ। जिम्मेवारीको वोध गराउन अभियान थालिएको हो। पैसा नहुन सक्छ तर, सिप, ज्ञान र अनुभवलाई साटासाट गर्न सकिन्छ।’ यो विद्यालयमा मुख्यमन्त्री आचार्यले आधारभुत तहको शिक्षा आर्जन गरेका थिए।

    प्रदेश भित्रका एकसाथ १७ वटा विद्यालयबाट अभियान शुभारम्भ गरिएको हो। ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्याल प्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ।

    सार्वजनिक बिद्यालको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालय प्रतिको जवाफदेहीता वृद्दि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो।

    यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ। गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ। आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रियागरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ।

    प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन्। जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन्। यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार ६ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन्। माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाए अनुसार अभियान थालिएको हो।

    २०८० को एसईईमा सहभागी ८० हजार दुई सय २७ विद्यार्थीमध्ये ३१ हजार एक सय तीनजना मात्र ग्रेडेड हुन सफल भएका थिए, जसअनुसार नतिजा ३८.७२ प्रतिशत मात्र छ। राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर देखिएको छ। सामुदायिक विद्यालयमा झनै कमजोर अवस्था छ।

    प्रदेशमा चार हजार पाँच सय ३१ सामुदायिक विद्यालयमध्ये दुई हजार ६५ विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम छ। यी विद्यालयको संख्या कुल विद्यालय संख्याको ४५.५७ प्रतिशत हो। विगतमा समुदायले अपनत्व लिई सञ्चालित विद्यालयमा आज त्यही समुदायको संलग्नता कमजोर बन्दै गएको छ।

    अभियानमार्फत् विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ।

    यस अभियानअन्तर्गत शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ। विविध शैक्षिक प्रतियोगिताका आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रम सञ्चालन गरिनेछन्।

    विद्यालयलाई खेलकूद तथा अतिरिक्त क्रियाकलापका लागि सहयोग पुर्‍याइनेछ। सामाजिक विभेद, बालविवाह, घरेलु हिंसा, किशोरावस्थामा हुने चुनौती तथा लागूपदार्थ दुव्र्यसनजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। विपत् व्यवस्थापनका पूर्वतयारी गतिविधि तथा स्वास्थ्य, पोषण, खोप र जीवनोपयोगी सीपबारे जानकारी प्रदान गरिनेछ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकने प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बावुराम अर्याल, सामाजिक विकास मन्त्रालयका बरिस्ठ उपसचिव शारदा बस्याल, पुर्व प्रधानाध्यापक सालिकराम भुसाल, पूर्व विद्यार्थी कृष्णप्रसाद भुसाल, सन्धिखर्क नगरपालिकाका पूर्व उपप्रमुख ठाकुरप्रसाद विक लगायतले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology