नवलपरासी,फागुन १ ।
सरकारले गुणस्तरीय शिक्षा दिइरहेका निजी विद्यालयहरुको अवमूल्यन गरिरहेको निजी विद्यालयका सञ्चालकहरुले गुनासो गरेका छन् ।
उनीहरूले संसदमा विचाराधीन शिक्षा विधेयकले मुलुकको शैक्षिक समस्या समाधान गर्न नसक्ने पनि बताए । प्याब्सन लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रममा बोल्दै उनीहरूले सो कुरा बताएका हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन ) लुम्बिनी प्रदेशको नवलपरासीमा सम्पन्न पदस्थापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्याब्सन नेपालका उपाध्यक्ष विष्णु पन्थीले राज्यले निजी विद्यालयप्रति गरेको विभेदपूर्ण व्यवहारका विरुद्द सम्पूर्ण विद्यालयहरु एकजुट हुनुपर्ने आवश्यकता ओैल्याए ।
केन्द्रीय सचिव सुवर्ण न्यौपानेले संसदमा विचाराधीन शिक्षा विधेयक जस्ताको तस्तै पारित भए नेपालको शैक्षिक गुणस्तर झन् बढी ध्वस्त हुने बताए । यसैगरी प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार सुमन गोपाल आचार्यले सरकारले आफ्ना विद्यालयहरुको गुणस्तर सुधार्नुपर्नेमा शैक्षिक गुणस्तर दिइरहेका निजी विद्यालयमाथि सौतेलो व्यवहार गरेको उल्लेख गरे ।
सो अवसरमा प्रदेशका नवनिर्वाचित अध्यक्ष लालहरि पाण्डेले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै निजी विद्यालयप्रतिको विभेद र सरकारले गरेको अन्यायका विरुद्ध आन्दोलनको आवश्यकता ओैल्याउदै आफ्नो कार्यकालमा संस्थागत विद्यालयको स्तर अझ माथि उठाउन अहोरात्र लागिरहने बताए ।
उक्त अवसरमा केन्द्रीय सदस्य खेमेन्द्र राना,नवनिर्वाचित प्रदेश सचिव कृष्णप्रसाद शर्मा पवन लगायतले बोलेका थिए ।
शपथग्रहण र पदस्थापना पश्चात बसेको पहिलो बैठकले प्रदेश कमिटीको प्रमुख सल्लाहकारमा रामप्रसाद पाण्डेलाई मनोनयन गरेको छ भने संस्थापक अध्यक्ष कृष्ण खनाललाई वरिष्ठ सल्लाहकार र निवर्तमान वरिष्ठ उपाध्यक्ष ऋषिकेश जिसीलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
यसअघि निर्वाचन समितिका संयोजक गोविन्द मरासिनीले पहिले प्रदेशका नवनिर्वाचित अध्यक्ष लालहरि पाण्डेलगायत पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई शपथग्रहण गराएका थिए।
यही माघ १६ गते सम्पन्न प्याब्सन लुम्बिनी प्रदेशको चौथो अधिवेशनबाट अध्यक्षमा लालहरि पाण्डे ,वरिष्ठ उपाध्यक्षमा धनराज चपाई, उपाध्यक्षद्वयमा अमरराज सुवेदी र महेशमान बज्राचार्य , सचिवमा कृष्णप्रसाद शर्मा पवन,कोषाध्यक्षमा महेश भुर्तेल, सहसचिवमा राजेन्द्रकुमार आचार्य र सदस्यहरुमा हरि ज्ञवाली ,उपेन्द्र यादव, पूर्णबहादुर थापा, राजु यादव र रोशन श्रेष्ठ निर्वाचित भएका थिए।
प्याब्सनको विधानअनुसार कमिटीका पदेन सदस्यहरुमा जिल्लाका अध्यक्षहरु दीपक खनाल,डाँसुराम पन्त ,डम्बरबहादुर गुरुङ, धिरेन्द्र विक्रम सिँह,कमल बेलबासे, निर्मल न्यौपाने,दिपेन्द्र जिसी, बालहरि सुवेदी ,विकास बज्राचार्य ,राजु कुँवर र डिबी घर्ती मगर यसअघि नै निर्वाचित भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)