बुटवल,माघ २२ ।
रुपन्देहीको तिलोत्तमामा रहेको श्रृङ्गेश्वर धाममा महायज्ञको तयारी गरिएको छ । धार्मिक पर्यटनको केन्द्र बन्दै गरेको धाममा तयार गरिएको गुरुयोजना अनुसारका पूर्वाधार निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
१८ कठ्ठा क्षेत्रफलमा फैलिएको धाम परिषरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले यहि माघको २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान–विज्ञान श्रृङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रृङ्गारिक महाआरती गर्न लागिएको श्रृङ्गेश्वरधाम एवं महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीले जानकारी गराउनुभयो ।
महायज्ञको बिहिबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुहुनेछ भने विहान शोभा कलश यात्रा गरिने जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले बताउनुभयो ।
त्यस्तै महायज्ञमा ब्रतबन्ध, चौरासी पुजा, ग्रहशान्ती, तुलादान, रुद्रादिभिषेक लगायतका विशेष कर्मसमेत गरिने उहाँले बताउनु भयो । त्यस अवसरमा गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायण पन्थले महायज्ञमा आई संगितमय कथा श्रवण गर्न र सक्दो दान गर्नको लागि आह्वान गर्नुभयो ।
पण्डित ओमप्रकाश सुवेदीको मुखारबृन्दबाट कथा प्रवचन हुनेछ भने हरेक दिन बिहान योग तथा ध्यान, नित्य पुजा पाठपारायण, दिउँसो कथा प्रवचन, साँझ श्रृङ्गारिक दिब्य महाआरती, राष्ट्रिय कलाकार सहितको देवलिलामय झाँकी, भजन हुने प्रचारप्रसार समितिको संयोजक पत्रकार खिमानन्द भट्टराईले जानकारी गराउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)