बुटवल,माघ ५।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसुती शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसुती सेवालाई विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्ष थप गरिएको हो ।
थप गरिएको शल्यक्रिया कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री आचार्यले थप गरिएको शल्यक्रिया कक्षले उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न योगदान गर्ने बताउँदै अब पालो पर्खनुपर्ने समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी सरकारले कार्यक्रम बनाएको बताउँदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको महत्वपूर्ण योगदान जरुरी रहेको औंल्याउनु भयो ।
‘सेवा प्रवाहलाई चुस्त बनाउने भनेको यहाँ कार्यरत जनशक्तिले हो’उहाँले भन्नुभयो, ‘दत्तचित्त भएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन यहाँहरुले खेलेको भूमिकाको प्रदेश सरकार प्रशंसा गर्न चाहन्छ ।अझ यहाँहरुबाट थप योगदान सरकारले खोजेको छ ।’
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु, स्वास्थ्य सचिव डाक्टर वासुदेव उपाध्याय, स्वास्थ्य निर्देशक डा.विनोद गिरी, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.इन्द्र ढकाललगायतको सहभागिता थियो ।
अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०-८१ मा ९ हजार ७ सय ६५ वटा शल्यक्रिया गरिएको जनाइएको छ । जसमध्ये ४ हजार ५ सय ४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसुति सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५ सय ४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् ।
पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)