बुटवल,माघ ४ ।
पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिकामा पर्ने तिनाउ नदिमा बाढीले भत्काएको नदिको तटबन्धन र बेडबारको स्थलगत अवलोकन गर्नुभएको छ ।
उहाँ आफू सिचाईमन्त्री भएका बेला कटान रोक्न तिनाउको दुबैतर्फ तटबन्धन गर्नुको साथै नदिको गहिराई नियन्त्रणका लागि बेडबार निर्माण गरिएको थियो । त्यसपछि वर्षेनी वर्षामा आएको बाढीले कतिपय ठाउँमा तटबन्धन तथा बेडबार भत्काईदिएको छ ।
बुटवलको तिनाउपुल माथी र तलबाट समेत सिचाईका बाँधहरु रहेको र नदि गहिरिँदै जाँदा सिचाईको मुहानमा समेत समस्या हुने भएकाले बेडबार बाधिएको थियो । नदिनमा भत्किएका तटबन्धन तथा बेडबार अवलोकन गरी उहाँले नियन्त्रणका लागि थप बजेट निनियोजन गरी व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।
बुटवललाइ सुरक्षित बनाउन बुटवल उपमहानगरपालिकाले बजेट बिनियोजन गरेर काम थालिसकेको नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।यस्तै उहाँले बुटवल–गोरुसिंगे सडक निर्माण प्रकृयालाइ सहज बनाउनुपर्ने बताउनुभएको छ । उहाँले बुटवल–नारायणगढ सडक निर्माणमा भएको सुस्तताले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक वातावरणमा समेत खलल पुर्याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल–गोरुसिङ्गे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रकया अवलम्वन गर्न आग्रह गर्नुभयो ।
पूर्वगृहमन्त्री खाँणले शुक्रबार बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरुलाई भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई पनि प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडि बढाउन आग्रह गर्नुभएको हो ।
त्यसैगरी लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले पनि सबै बाटो एकै पटक नभत्काई पार्टपार्टमा काम गर्न आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सबै सडक एकै पटक भत्काउँदा सवारी आवागमनमा समस्या हुने भएकाले सवारी आवागमनका लागि वैकल्पिक मार्गहरुको पहिचान गरेर सोही अनुसार काम गर्न आग्रह गर्नुभयो ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले २०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्नेगरी गत असारमा निर्माण व्यवसायीसंग सम्झौता भएको र सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको जानकारी गराउनु भयो । उहाँले सवारी अवागमनमा असर नपर्नेगरी पहिले सडकको क्षेत्राधिकार क्लियर गर्ने र कुल ५० किलोमिटर मध्ये २५-२५ किलोमिटर दुई भागमा विभाजन गरी काम हुने जानकारी गराउनु भयो । उहाँका अनुसार यो सडक विस्तारको काम अव छिटै सुरु हुनेछ ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका ईञ्जिनियर जिगेशप्रसाद चौधरीका अनुसार आयोजनाको कुल लम्बाई ५० किलोमिटर रहेको छ । जसमा शहरी क्षेत्रमा फूटपाथ तथा नाली सहित ५० मिटर, ग्रामिण क्षेत्रमा ३७ मिटर र बन क्षेत्रमा २४ मिटर चौडाई सडक निर्माण गरिने छ । उहाँले प्राप्त भएका सुझावलाई ग्रहण गरी सवारी आवागमनमा पनि समस्या नहुने र समयमै सम्पन्न गर्ने गरी निर्माणको काम अगाडि बढाईने बताउनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)