बुटवल,माघ ३ ।
इलाका प्रहरी कार्यालय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका थप १४ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी गरेको छ । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न लागिएको हो । रवि लामिछानेलाई ४ करोड १३ लाख र छविलाल जोशीलाई ४ करोड २८ लाख रुपैयाँसहित ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो माग गरिएको छ । यसअघि प्रहरीले सुप्रिम सहकारीकै रकम अपचलन गरेको अभियोगमा गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।
प्रहरीले गत शुक्रबार नै ४ सय पेज बढीका दुई प्रतिवेदन सरकारी वकिलको कार्यालयई बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले मुद्दा दर्ताका लागि कागज रुजु गर्ने काम भइरहेको र केही बेरमा मुद्दा दर्ता हुने बताए ।
‘हामीले आजै मुद्दा दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेका छौं,’ उनले भने, ‘अहिले कागज पञ्जीकरण गर्ने काम भइरहेको छ ।’ सुरु प्रतिवेदनका २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १४ जना थप गरेर प्रहरीले ४२ जनालाई मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा दिएको छ ।
असोज ५ गते रवि र छविविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले थप पूरक प्रतिवेदन तयार गरेको हो । स्रोतका अनुसार प्रतिवेदनमा रवि लामिछानेलाई व्यक्तिगत २ करोड र सामूहिक दायित्व २ करोड १३ लाख गरी ४ करोड १३ लाख रुपैयाँ, छविलाल जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७८ लाख सामूहिक दायित्व गरी ४ करोड २८ लाख बिगो दाबी माग गरिएको छ ।
सुप्रिमबाट २ करोडको ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ लामिछानेको खातामा गएको देखिएको छ । त्यसको भौचरसहित प्रहरीले प्रतिवेदनमा समेटेर २ करोडलाई व्यक्तिगत र अन्यलाई सामूहिक दायित्वमा उल्लेख गरेको छ ।लामिछानेका नाममा २०७७ चैत १८ गते २ करोड रकम ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको थियो ।
उक्त रकमको भौचर सुप्रिमका व्यवस्थाप सागर केसीले सदर गरेका थिए । सुप्रिमकी कर्मचारी रोशनी गुरुङले लामिछानेका नाममा जम्मा गरेकी थिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)