काठमाडौं मंसिर,१९ ।
सरकार र निजी क्षेत्रले नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त आयोजना गरेको ‘नेपाल–चीन बिजनेस समिट’ मा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो ।
द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए ।
उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकाले लगानी गर्न आग्रह गरे । नेपाल–चीन परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताए ।
उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानी संरक्षणमा सरकार सधैं तत्पर रहेको बताए । महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्नमा देश–विदेशमा पहल गरिरहेकोमा प्रधानमन्त्री ओलीले महासंघको प्रशंसा पनि गरे ।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने देश रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको ओलीले बताए । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनले बताए ।
सीसीपीआईटी मुख्यालय बेइजिङमा बुधबार आयोजित समिटमा चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए ।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य देशमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने बताए ।
चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्सार रहित सुविधाले नेपाल लाभान्वित हुने उनको भनाइ छ ।
चीन नेपालमा सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउने देश हो भने वास्तविक लगानीमा दोस्रो ठूलो हो ।
उनले नेपालको पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताए । नेपालबाट बढिभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने उनले बताए ।
यो समिटको दोस्रो संस्करण हो । महासंघ र सीसीपीआईटीले सेप्टेम्बर २०२३ मा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले एक वर्ष अवधिमा व्यावसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए ।
‘महासंघको आग्रहमा सरकारले लगानी सम्बन्धी आठ कानुन संशोधन गरेको छ,’ ढकालले भने, ‘यसैगरी द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको छ ।’
यसैगरी, पहिलो पटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको जानकारी पनि गराए । यसले लगानीकर्ता ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनको भनाइ छ ।
उनले सीमा क्षेत्रको पूर्वाधार लगायत स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायत सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पूर्वाधार जस्तै केबुलकार, थिम पार्क, रिसोर्ट लगायतमा विदेशी लगानी सम्भावना बढी देखिएको उनले बताए ।
नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले नेपाललाई प्राथमिकतामा राख्न चीनसँग आग्रह गरे ।लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक सदस्यका नाताले मुलकभित्र व्यावसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि ढकालले जनाए । उनले महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिबद्धता पनि जनाए ।
चीनले यही १ डिसेम्बरदेखि आफ्नो कूटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशलाई दिने घोषणा गरेको भन्सार रहित सुविधाको ढकालले स्वागत गरे । त्यसैगरी सीसीपीआईटी उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताए । उनले सीसीपीआईटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए ।
उनले महासंघ र सीसीपीआईटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नेपालमा लगानी सम्भावनाबारे बताउँदै चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए ।
महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरम सभापति मनोज पौडेलले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गर । समिटमा १ सय २० चिनियाँ व्यवसायी सहभागी थिए । नेपालका तर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स सहित करिब ५० उद्यमी–व्यवसायी सहभागी थिए ।
त्यस्तै चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारी समेत समिटमा सहभागी थिए । मिटभन्दा पहिले ‘बिजनेस टु बिजनेस’ बैठक पनि राखिएको थियो ।
महासंघले पछिल्लो डेढ वर्षमा देश बाहिर आयोजना गरेको यो चौथो समिट हो । यसअघि बेइजिङ, नयाँदिल्ली र दुबईमा महासंघका साझेदार संस्था सीसीपीआईटी, कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री र दुबई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)