बुटवल,मंसिर १७
बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा नमुना अदालत अभ्यास कार्यक्रम भएको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा मंगलबार भएको नमुना अदालती अभ्यास कार्यक्रममा अभियुक्त, पक्ष, विपक्ष, बादी, प्रतिवादीलगायतका विषयमा विद्यार्थीहरुले चर्को बहस गरेका थिए ।
अदालतमा हुने बहसलाई अभ्यासका रुपमा विद्यालयमा दुरुस्त उतारेका विद्यार्थीहरुले गाली बेइजती, अपमानजनक व्यवहार, चरित्र हत्या, बालअधिकार, लैंगिक हिंसालगायतका विषयमा पक्ष र विपक्षमा बहस गरेका थिए ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर लैंगिक हिंसाको मुद्धालाई बहसका रुपमा नमुना अदालतमा उठाएका विद्यार्थी (वकिल) हरुले विद्यालयतहमा हुने लैंगिक हिंसा र त्यसले पार्ने प्रभाव, कानुनी उपचार, दण्ड सजायलाई अदालती प्रकृयाबाट टुंगो समेत लगाएका थिए ।
कक्षा ८ मा अध्ययनरत ४५ जना विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रममा बालअधिकारका मुद्धाहरुलाई जोड दिनुका साथै सामाजिक संजालको दुरुपयोग र यसले पार्ने असरका बारेमा पनि बहस भएको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो ।
अक्सफोर्डका सबै तहका विद्यार्थीहरुको वाककला क्षमतालाई बाहिर निकाल्नुका साथै उनीहरुलाई नेतृत्वतहमा पुग्दा क्षमतावान बनाउनकालागि पाठ्यक्रममा भएका विषयलाई ब्यवहारिक रुपमै अभ्यास गराउँदै आएको प्राचार्य भुसालले बताउनुभयो । उहाँले विद्यार्थीहरुको क्षमताको विकास गराउन तहगत रुपमा नुमना अदालत, नमुना सांसद, नमुना युएमएन कार्यक्रम र नमुना युवा मेयर कार्यक्रम समेत संचालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले लैंिगक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गरिएको लैंगिक हिंसा विरुद्धको बहसले विद्यार्थीमा सकारात्मक उर्जा थपिदिएको बताउनुभयो । उहाँले विद्यालयस्तरमा हुने यस्ता कार्यक्रमले समाजमै सकारात्मक प्रभाव पार्ने गरेको उल्लेख गर्दै निजी शैक्षिक संस्थाहरुमा गरिने यस्ता कार्यक्रमले विद्यार्थीको चौतर्फि विकासमा टेवा पुर्याएको विचार राख्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारीले कानुनको ज्ञान सानै उमेरदेखि थाहा पाउनु पर्ने बताउदै विद्यार्थीको सहभागितामा भएको नमुना अदालत अभ्यास कार्यक्रमले विद्यार्थीलाई कानुनको बारेमा जान्ने र सचेत हुने अवसर दिएको उल्लेख गर्नु भयो ।
विद्यालय संचालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरिक्षक विष्णुबहादुर बस्नेत, क्याम्पस संचालक समितिका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, कार्यक्रम संयोजक हिमलाल न्यौपानेलगायतले नमुना अदालती अभ्यास कार्यक्रमले विद्यार्थीको वाकक्षमताको विकास गराएको बताउनुभयो ।
शिक्षक कपिल ढकालको संचालनमा भएको कार्यक्रममा कक्षा ८ का विद्यार्थी टेरीसा भण्डारी र प्रिष्टिना खनालले न्यायधिसको भुमिका निभाएका थिए भने स्नेहा बोहोरा, सिमुन थापा, खुशी सिंह, अनुस्का पौडेल, अनुसा भण्डारी, रिचा पाण्डेले थुनछेक र सरकारी वकिलको भुमिका निभाएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)