भैरहवा,मंसिर ६ ।
यही मंसिर २० गतेदेखि रुपन्देहीको भैरहवामा सञ्चालन हुने ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ का लागि महोत्सव स्थलमा महोत्सव सचिवालयको स्थापना गरिएको छ । सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरस्थित महोत्सव स्थलमा स्थापना गरिएको उक्त सचिवालयको बुधबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ पुस १ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव सम्पन्न नहुञ्जेल महोत्सव सञ्चालन सम्बन्धि र संघको अन्य प्रशासनिक सबै काम अब यही सचिवालयबाट हुनेछ ।
सचिवालयको उद्घाटन गर्दै संघका अध्यक्ष श्रेष्ठले पछिल्ला दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपछि केही चलायमान बनेको भैरहवा क्षेत्रमा यो महोत्सवका कारण थप चलायमान बन्ने बताए ।
‘यो महोत्सवलाई सफल बनाउने जिम्मेवारी आयोजक संस्थाको मात्र नभएर हामी सबैको हो’, श्रेष्ठले भने, ‘त्यसैले महोत्सव सञ्चालनका क्रममा कुनै कमीकमजोरी भएमा सुधार गर्ने मौकासहित सिधै आयोजक समक्ष सुझाव राखिदिन म सबैमा आग्रह गर्दछु ।’
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले संघले सञ्चालन गर्न लागेको महोत्सवले आर्थिक मन्दीले सुस्ताएको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा आर्थिक चलायमान भइ केही हदसम्म सुधार आउने विश्वास व्यक्त गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)