बुटवल,मंसिर १ ।
नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उद्धेश्यका साथ रुपन्देही डान्स स्टारको चौथो संस्करणको अडिसन राउन्ड सम्पन्न भएको छ ।
छमछमी कला केन्द्रको आयोजनामा शनिबार देखि बुटवलमा रुपन्देही डान्स स्टार सिजन ४ शुरू भएको हो ।
प्रतियोगितामा अडिसनमा सहभागि १०२ जनाबाट ६० जना छनोट भई ओपन राउन्डमा पुगेको छमछमीका संचालक किशोर थापाले बताए । उनले नागरिक अनलाईनसंग भने -‘अडिसन शनिबार देविनगरस्थित गार्गी एकेडेमीमा भयो,अडिसनमा सहभागीहरु प्रत्येकले २ मिनेटको प्रस्तुति देखाए,१०२ जनाबाट ६० जना छनोट भए ।´
प्रतियोगितामा सिंगल डान्समात्र राखिएको उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, ट्रफी र गिफट हेम्परबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि उपविजेताले ३० हजार, तृतियले २० हजार तथा सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरिने उनले बताए ।
एक महिनासम्म विभिन्न चरण हुदै चल्ने प्रतियोगितामा नेपाली र अग्रेजी गितमामात्र प्रतियोगीले आफनो नृत्य प्रस्तुत गर्न पाउने उनले बताए ।
नृत्य प्रतियोगिताको नाममा बजारमा बिकृति छाएको भन्दै उनले यो प्रतियोगितामा वर्कसप, एसएमएस भोटिङ जस्ता कुनै पैसा उठाउने काम नगर्ने दाबी गरे ।
ओपन राउन्ड मंसिर ८ गते हुनेछ ।फाईनलमा भने निर्णायकको ६० प्रतिशत र प्रवेशवापत दर्शकको टिकटको भोटिङ ४० प्रतिशत निर्णायक हुने उनले बताए ।
उद्घाटन कार्यक्रममा बुटवल ११ का जनप्रतिनिधि नकुल शाही ठकुरी,गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारी ,कलाकार बिजय सापकोटा लगायतले बोल्दै प्रतियोगिता सफलताको कामना गरे।
प्रतियोगिताको पहिलो संस्करणमा लक्ष्मी पुन, दोस्रो संस्करणमा अंकिता थापा र तेस्रो संस्करणमा लिजा थापा विजेता भएकी थिईन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)