Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवल-नारायणगढ सडक : मङ्सिरभित्र काम सुरु नभएमा ठेक्का तोड्नुको विकल्प हुन्न : प्रधानमन्त्री

बुटवल-नारायणगढ सडक : मङ्सिरभित्र काम सुरु नभएमा ठेक्का तोड्नुको विकल्प हुन्न : प्रधानमन्त्री

  • 2.1K
    SHARES

  • बुटवल-नारायणगढ सडक : मङ्सिरभित्र काम सुरु नभएमा  ठेक्का तोड्नुको विकल्प  हुन्न : प्रधानमन्त्री

    काठमाडौँ, कात्तिक २९  ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक-खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभयो । 

    विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ भन्नुभयो ।SADAK.jpg

    “जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गर्नुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौँ ।”

    नवलपरासी (सुस्ता पूर्व) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । सो सडक खण्डको हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको बताइएको छ ।

    उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी हुनुहुन्थ्यो । भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटक-पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराउनुभयो ।

    सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सडकको निर्माण र सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology