काठमाडौँ,कार्तिक २८ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्याैता विवादमा अबकाे १५ दिनभित्र उद्याेगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि आफ्नै प्रक्रियामा लाग्ने बताएका छन् । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन् ।
'हामीले गरेकाे बिल अनुसारको महसुल उद्याेगीहरुले १५ दिनभित्र तिरेनन् भने हामी आफ्नाे प्रक्रियामा फेरि लाग्नेछौ,' उनले भने, 'सरकारले पनि १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेकाे छ ।'
बक्यौता उठेन भने अब नेपाल सरकार र ऊर्जा मन्त्रालय पनि बक्यौता उठाउन अघि बढ्नेमा विश्वस्त रहेकाे उनको भनाइ छ ।'प्राधिकरण आफ्नाे ऐन कानुनमा रहेर बक्यौता उठाउन अघि बढ्नेछ, यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्देशन र विद्युत् नियमन आयाेगकाे निर्देशन अनसुार तीन महिना सुविधा दिएका थियौं । '
अब सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणकाे मात्र चासाेकाे विषय नरहेकाे भन्दै उनले अब सबै सर्वसाधारण सराेकारवालाकाे चासोको विषय रहेको उनले बताए ।लाइन काट्ने र जोड्ने गर्नुभन्दा दिर्घकालीन रुपमा समस्याकाे समाधान गर्नुपर्ने उनको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)