गुल्मी,कात्तिक ११।
गुल्मीको सत्यवती गाउँपालिका ६, स्थित डहरे खोलामा मोटरेबल पुल निर्माण थालिएको छ। रिडी -रुद्रावेणी–वामीटक्सार सडकखण्डमा पर्ने डहरे खोलामा मोटरेबल पुलको आइतबार शिलान्यास गरिएको हो।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले यस खोलामा निर्माण गर्न लागिएको सो पुलको शिलान्यास गर्नुभएको हो। उहाँले डहरे खोलामा मोटरेबल पुल नहुँदा नागरिकले लामो समयदेखि धेरै सास्ती भोगिरहेको बताउनुभयो।
नागरिकको भावनाको मध्यनजर गर्दै रिडी–रुद्रवेणी चोरकाटे खण्डका डहरे खोलासहित चारवटा पुलको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न जरुरी रहेको भन्दै पुल निर्माणले हिउँद वर्षा १२ महिना यातायातका साधन निर्वाध रुपमा चल्ने बताउनुभयो।
नेता भण्डारीले छिटोभन्दा छिटो पुल निर्माणका लागि आफूले निरन्तर पहल गर्ने बताउनुभयो। पुल निर्माण भएपछि सवारी साधनसँगै यहाँका नागरिकलाई आवतजावतमा महत्त्वपूर्ण सहयोग हुने उहाँको भनाइ छ।
राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले डहरे खोलामा पुल निर्माण भएपछि यो क्षेत्रकै विकासमा नयाँ आयाम थपिने बताउनुभयो।
लुम्बिनी प्रदेशका सांसद चिन्तामणि पाण्डेय, यमु गैरे, जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेयलगायतले धारणा राख्नुभयो।
२०३६ सालदेखि सञ्चालित यस सडकमा पर्ने नादेवा, भार्से, डहरे, गिदी खोलामा मोटरेबल पुल निर्माणका लागि सडक विभागले चालू आव २०८१–०८२ मा २२ करोड रुपियाँ बजेट विनियोजन गरेको हो।
डिभिजन सडक कार्यालय पाल्पा अन्तर्गत यहाँका चारवटै पुल निर्माणको काम राजेश्वरी कन्सट्रकक्सन प्रालिले जिम्मा लिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)