गुल्मी, कात्तिक १ ।
गुल्मीका दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका दुई गाउँपालिकाले कोजाग्रत पूर्णिमाको अवसर पारेर सार्वजनिक बिदा दिएका हुन् ।
यस जिल्लाको पश्चिम ग्रामीण भेगको मालिका गाउँपालिका र धुर्कोट गाउँपालिकाले आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा)का अवसरमा कार्यपालिकाको बैठकबाट आफू मातहतका कार्यालयमा सार्वजनिक बिदा दिएका हुन् ।
कोजाग्रत पूर्णिमाको अवसरमा सराँय नाच लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुने हुँदा सार्वजनिक बिदा दिएको बताइएको छ ।
मालिका गाउँपालिकाको दलिङ्ग र अर्जैमा कोजाग्रत पूर्णिमाको अवसरमा सराँय नाचसँगै विशेष मेला लाग्ने गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताउनुभयो । मेलालाई सभ्य र भव्य रूपमा सफल बनाउन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा दिएको भन्दै उहाँले शान्ति विशेष सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो ।
त्यस्तै, धुर्कोट गाउँपालिकाको धुर्कोट कोटमा वृहत मेला तथा ऐतिहासिक सराँय नाच र नयाँगाउँमा कोजाग्रत पूर्णिमा विशेष मेला लाग्नुका साथै सराँय नाच हुने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो ।
यहाँको सराँय नाचसँगै संस्कृति संरक्षणका लागि आफूहरू निरन्तर लागेको भन्दै उहाँले लोप हुन लागेका संस्कृति तथा परम्पराको संरक्षणमा गाउँपालिका लागेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)