बुटवल,असाेज २४ ।
आज दशैँको सप्तमी तिथि, घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्राइएको छ । आज दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा फूलपाती भित्राइएको हो ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्राउने चलन छ ।यसैबीच, काठमाण्डौको हनुमानढोका दरबारको दशैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्राइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्राइएको हो । दशैँ घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ ।बुटवलका बिभिन्न स्थानमा रहेका दशैँ घरमा फूलपाती भित्राइएको छ ।
बुटवलस्थित नेपाली सेनाको मध्य पश्चिम हेड क्वाटर २२ न्मबर बहिनी अड्डा तथा श्री तारा दल गणबाट परम्परागत बाजा तथा फूलपातीको डोली सहित बुटवल १० स्थित कालिका मन्दिर प्राङ्घडमा विधिपूर्वक फूलपाती निकालीएको छ ।
नेपाली सेनाको टुकडी स्थानीय बासिन्दा सहितको टोली द्वारा बाजागजा सहित बजार परिक्रमा गरी आ–आफ्नो ब्यारेक हरुमा रहेको दशैं घरमा सुभ साइतमा फूलपाती भित्राउने कार्य भएको सेनाले जनाएको छ । दशैंका कारण बुटवल बजार सुनसान बन्द गएको छ भने घर फर्किनेहरुका कारण गाउघरमा उल्लास बढ्दै गएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)