बुटवल,असोज १३ ।
पाल्पाको अगाहाखोलादेखि काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन भएको छ ।
शुक्रबार राति छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको हो ।अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं आउन लागेको रात्री बसका चालक र सहचालकसँग सम्पर्कविहीन रहेको बसधनी विमल अर्यालले जानकारी गराए ।बसका चालक र सहचालक शुक्रबार मध्यरातदेखि बसका स्टाफसँग सम्पर्क हुन नसकेको अर्यालले बताए ।
‘चालकसहित तीनै जना स्टाफको मोबाइल अफ छ । गाडी भेटिएको छैन,’ अर्यालले भने,‘काठमाडौंमा सबैतिर सम्पर्क गरें गाडी नआएको जानकारी गराएका छन् ।’
मुग्लिङ कट्ने बेलासम्म गाडी चालकसँग सम्पर्क भएको र त्यसपछिको अवस्था अज्ञात रहेको अर्यालले जानकारी गराए ।अर्यालका अनुसार बसमा १८ देखि २० जना यात्रु रहेका थिए । उक्त बसका यात्रुहरुसँग पनि सम्पर्क हुन सकेको छैन ।
‘यात्रुका आफन्तले फोन गर्नुभएको थियो । मेरो पनि सम्पर्क नभएको उहाँहरुलाई बताएँ,’ अर्यालले भने ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)