बुटवल,भदौ २५ ।
आठौँ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता २०८१ भैरहवामा हुने भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा असोज ६ गतेदेखि प्रतियोगिता हुनेछ । संघका अध्यक्ष सुजल पुनले स्नुकरको क्रेज र विकासको गतिलाई जोड्ने गरि प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।
भैरहवा नारायणथानस्थित क्रेजि क्यु क्लब हाउसमा हुने प्रतियोगितामा तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । रुपन्देहीमा राष्ट्रिय प्रतियोगिता समेत गर्ने तयारीमा रहेको उहाले बताउनुभयो । यसैगरी स्नुकर खेलको विकास र प्रचारप्रसारमा संचार क्षेत्रबाट भएको योगदानलाई मध्यनजर गरि पत्रकार सम्मान कार्यक्रमलाई समेत निरन्तरता दिइने बताउनुभयो ।
प्रतियोगिता बारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका संस्थापक अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले रुपन्देही जिल्लाका विभिन्न पालिकाहरुमा यो खेल हुने गरेको हुँदा फरकफरक क्षेत्रमा प्रतियोगिता गर्ने अभ्यास शुरु गरेको बताउनुभयो ।
स्नुकरप्रतिको आम नागरिक र प्रहरी, प्रशासनको सोचलाई परिवर्तन गर्न यहाका संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको समेत उहाको भनाइ । संस्थालाई नयाँ र युवाहरुबाट निरन्तर पुस्तान्तरणलाई जोड दिनुपर्ने उनले सुझाव दिनुभयो । कार्यक्रममा संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले स्नुकर खेलप्रतिको युवाहरुको आकर्षणलाई मध्येनजर गरि प्रतियोगिता गर्न लागेको बताउनुभयो ।
राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरु र रुपन्देही जिल्लामा आवद्घ रहेका सदस्यले प्रतियोगितामा भाग लिन पाउनेछन ।एक सय बढी खेलाडीहरुले भाग लिने प्रतियोगिताको उपाधि विजेतालाई नगद ६१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि हाईयस्ट ब्रेकरलाई नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने बताइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, स्नुकर संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, प्रथम उपाध्यक्ष राजु प्रधान, संघका सचिव प्रकाश क्षेत्रीले खेल विकासमा स्थानीय सरकारको सहयोग जरुरी रहेको बताउनुभयो । हाल रुपन्देहीमा ४४ वटा स्नुकर हाउसहरु संचालनमा छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)