Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकीमा दुई तिहाइको सरकार,नौ सदस्यीय मन्त्रिपरिषद् गठन

गण्डकीमा दुई तिहाइको सरकार,नौ सदस्यीय मन्त्रिपरिषद् गठन

  • 1.4K
    SHARES

  • गण्डकीमा दुई तिहाइको सरकार,नौ सदस्यीय मन्त्रिपरिषद् गठन

    कास्की, भदौ १७ ।

    मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि नौ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको हो । 

    नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका पाण्डे गएको जेठ १६ गते सर्वोच्च अदालतको परमादेश बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । पाण्डेलाई अहिले गण्डकी प्रदेश सभाका ८८ प्रतिशत सदस्यको समर्थन छ । ६० सदस्यीय प्रदेश सभामा अहिलेको सरकारलाई नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, स्वतन्त्र सांसद राजीव गुरुङ, नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई सांसद गरी ५३ सांसदको समर्थन छ । 

    सरकारमा नगई पाण्डे सरकारलाई विश्वासको मत दिएको राप्रपाले अहिलेसम्म सरकारलाई समर्थन कायमै राखेको छ । स्वतन्त्र सांसद गुरुङ र नेपाल समाजवादीका सांसद देवकोटालाई कांग्रेसले आफ्नै कोटाबाट मन्त्रीमा निरन्तरता दिएको हो । 

    सङ्घमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको करिब दुई महिनापछि गण्डकीमा दुई तिहाइ भन्दा बढीको समर्थन रहेको सरकार बनेको छ। एमालेबाट थपिएका मन्त्रीहरूले सोमबारै प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

    मन्त्री बन्नुभएकी नवलपुरकी सांसद पद्मा जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउनुभएको छ । बागलुङका सांसद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय र समानुपातिकबाट सांसद बन्नुभएका कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाउनुभएको छ । 

    पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

    यसअघि भौतिक पूर्वाधार मन्त्री रहनुभएका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । स्वतन्त्र सांसद गुरुङको मन्त्रालय हेरफेर गर्नुभएका मुख्यमन्त्रीले नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई भने पुरानै मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ।

    मन्त्रिपरिषद्मा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी डा टकराज गुरुङ र विन्दुकुमार थापा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । आइतबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या सातबाट बढाएर नौ पुर्‍याएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology