बुटवल,साउन २६।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विरोध जनाएको छ । एमाले बुटवल नगरका अध्यक्ष किसन ज्ञवालीले विज्ञप्ति जारी नेताको नाममा नामकरण गर्ने निर्णयको विरोध जनाएका हुन् ।
हालै बसेको अस्पताल व्यवस्थापन समितिको बैठकमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले उक्त प्रस्ताव पेस गरी निर्णय गराएका थिए ।
पाण्डेय अस्पतालको स्थानीय व्यवस्थापन समिति अध्यक्ष हुन् । उक्त समितिमा उपमहानगर प्रमुख पदेन अध्यक्ष, बुटवल उद्योग वाणिज्य सङ्घ अध्यक्ष पदेन उपाध्यक्ष रहने व्यवस्था रहेको छ ।
२०५५ सालमा बुटवल ७ दिपनगरमा स्थापना भई सञ्चालनमा आएको अस्पताल जापानको आम्दा इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा निर्माण भएको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)