बुटवल,साउन २१ ।
बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा भदौको अन्तिममा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको ७१ औं वार्षिक साधारण सभा यहि भदौ ३१ गते सोमबार गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले साधारण सभा सम्पन्न गर्नको लागि विभिन्न सात वटा विषयगत समिति समेत गठन गरिएको छ ।
जसमा किटव्याग व्यवस्थापनको लागि कार्यसमिति सदस्य रामबहादुर भण्डारी, खाना तथा खाजा व्यवस्थापनको लागि कार्यसमिति सदस्य दीपकप्रसाद चापागाई, स्वागत–सत्कार व्यवस्थापनका लागि कार्यसमिति सदस्य कमल पन्त, मत सर्वेक्षण व्यवस्थापनको लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठ, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनको लागि कार्यसमिति सदस्य उमेश अमात्य र निमन्त्रणा कार्ड व्यवस्थापनको लागि कार्यसमिति सदस्य काशीराम शर्मा पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकले संघको चालु आर्थिक वर्ष २०८१-८२ को लागि प्रस्ताव गरिएको बजेत पारित गरिएको छ । बजेट तर्जुमा समितिका संयोजक तथा संघका कोषाध्यक्ष बसन्तप्रसाद ढकालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१-८२ को लागि झण्डै २ करोड २० लाख रुपैंया बराबरको प्रस्तावित बजेट कार्यसमिति बैठकले सुझाव सहित पारित गरेको हो ।
बैठकमा संघका अध्यक्ष हरिप्रसाद अर्याल, निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्ति अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल र सहकोषाध्यक्ष धनकला खनालले विविध विषयमा जानकारी सहित बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)