बुटवल,साउन २१ ।
बुद्धजन्मस्थल लुम्बिनीबाट हिमाल देखिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, असार साउन महिनामा मौसम सफा हुँदा लुम्बिनीबाट हिमाल देखिन्छ । बुधबार पनि यस्तै मौका जुर्यो ।
लुम्बिनी पुगेका पर्यटकहरुका लागि लुम्बिनीबाट हिमाल देख्न पाएकोमा दंग थिए । श्रीलंकाबाट बौद्ध तीर्थयात्रीहरु लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले दुर्लभ दृश्य देख्न पाएकोमा खुशि व्यक्त गरे । उनले भगवान बुद्धको जन्म हिमालयको काखमा जन्मिएको भनेर ब्याख्या गरिएकोमा आफूले प्रत्यक्ष रुपमा हिमाल देख्न पाएको बताए ।
बर्षातपछि खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरु देख्दा यहाँ आएका पर्यटक र धार्मिक पर्यटकहरु लेभिएका हुन् । प्राय असार साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरी लगायतका हिमालहरु देखिने पुस्तौदेखि मायादेवी मन्दिरमा पूजा गर्दै आएका योगेन्द्रनाथ पाण्डेले बताए ।
त्यसो त नेपाल भौगौलिक रुपमा हिमाल, पहाड र तराईको दुरी त्यति टाढा छैन। मौसम सफा रहेको बेला लुम्बिनीबाट हिमाल देखिन्छ नै । तर, बुद्धजन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटकीय रुपमा प्रचार हुन सकेको छैन । भगवान बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदीको किनारमा भएको बताउनुले बुद्धसँग हिमालको सम्बन्ध जोडिने पर्यटनविद् एव्म लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वजराईले बताए ।
मायादेवी र अशोक स्तम्भको छेउबाट देखिने हिमश्रृखला बेला र मौकामा मात्रै देखिन्छ । तराईको समथरभूमिबाट हिमाल हेर्न पाउनु आफैमा महत्वपूर्ण हो । लुम्बिनी सहित तराईका जिल्लाहरुबाट प्राय असार साउनमा मौसम खुल्दा हिमाल देखिने स्थिानीयहरु बताउँछन ।
लुम्बिनीबाट अन्नपूर्ण र धौलागिरी लगायतका हिमश्रृखलाहरुका भिडियो र फोटो खिचेका पत्रकार विनोद परियारले नागरिक अनलाइनलाइ बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)