रुकुमपश्चिम,साउन २०।
रुकुम पश्चिममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका –७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढा झुल्खेतको चुनाखोलाले बगाउँदा बेपत्ता हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज दिउँसो बुढालाई खोलाले बगाएको हो । घरबाट गोठतर्फ जानेक्रममा खोला तर्न खोज्दा चिप्लिएर लडेका बुढालाई खोलाले बगाएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।
बुढालाई खोलाले बगाएको सूचना पश्चात झुल्खेत, सोलाबाङ क्षेत्रमा प्रहरी परिचालन गरेर खोजी कार्य जारी राखेको बताइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)