बुटवल,साउन ९।
बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा आरोपित कुर्मी मन्त्री बनेका हुन् । उनीसहित ८ जना बिनाविभागीय मन्त्रीले आज शपथ लिए । जानकी गाउँपालिका परस्पुरकी निर्मला कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन् ।
सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूले गरेका छन् । बादशाह नेपाली कांग्रेसका प्रदेश सांसद हुन् । २०७५ मा एकाएक हराएकी निर्मलाको जग्गा हत्याउन कुटपिट गर्ने र अपहरण गरी बेपत्ता पार्नेमा गृह मन्त्रालयको प्रतिवेदनले नै बादशाहको नाम उल्लेख गरेको छ ।
लुम्बिनी प्रदेशसभामा दुई ठूला दलको संयुक्त सरकार पहिलो पटक बनेको हो । एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । एमालेबाट मुख्यमन्त्री आचार्य सहित ३ जना पुराना र दुई जना नयाँ छन् भने कांग्रेसबाट चार मध्ये तिन जना नयाँ अनुहारका हुन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)