काठमाडौँ,साउन १।
नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल मन्त्रीको शपथ लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व हाँक्ने स्थानमा पुगेका छन्। जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मन्त्रालय भएकाले पनि यो मन्त्रालय अलि संवेदनशील मन्त्रालय मानिन्छ।
स्वास्थ्य मन्त्रालयले गर्ने गतिला कामलाई प्रधानमन्त्रीको सफलताकै रुपमा लिइने हुँदा स्वास्थ्यलाई पछिल्ला वर्षहरुमा महत्त्वपूर्ण मन्त्रालय मानिने गरेको छ। मन्त्रालयको नेतृत्व गर्न विद्यार्थी राजनीतिबाट उदाएका कांग्रेसका युवा नेता पौडेल मन्त्री नियुक्त भएका हुन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र नं ५ बाट विजयी भएका पौडेल कांग्रेस युवा राजनीतिमा लोकप्रिय रहेका छन्। तर पहिलोपटक स्वास्थ्यमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेका पौडेललाई लथालिंग रहेका स्वास्थ्य सेवा सम्हाल्नुपर्ने जिम्मेवारी आएको छ।
पौडेल काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र ५ बाट १५ हजार २३७ मत प्राप्त गरि सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले १० हजार १७५ मत प्राप्त गरेका थिए।
पौडेल कांग्रेसको केन्द्रीय समिति सदस्य हुन्। उनले आफ्नो राजनीतिक जीवन कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट शुरु गरेका थिए। नसर्ने रोगका विरामी बढ्दै गएको समयमा स्वास्थ्यकर्मीहरुको न्यून दरबन्दीले चलेका ठूला सरकारी अस्पतालमा विरामीको चाप पछिल्ला वर्ष थेगिनसक्नु छ। अर्कोतर्फ सरकारले २ वर्षअघि नै निर्माण सम्पन्न गरेर संचालन गर्ने भनिएका ३९६ वटा आधारभूत अस्पतालको निर्माण भएको छैन।
छोटो समयमा मन्त्री फेरिइरहँदा स्वास्थ्य सेवातर्फका नीतिगत कामले राम्रोसँग गति लिन सकेका छैनन्। यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा प्रवेश गरेका पौडेललाई स्वास्थ्य सेवातर्फका लथालिंग रहेका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी आएको छ। स्वास्थ्यमा देखिएका समस्या समाधान गरी आफू उत्साहपूर्वक मन्त्रालयबाट बाहिरिने मन्त्री पौडेलले बताइसकेका छन्।
सोमवार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भने‚ 'अहिले देशमा सबैतिर निराशा छ, केही गरेको म्यासेज छोड्न चाहन्छु। त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्छु, उत्साहका साथ मन्त्रालय छिरेको काम गरेर उत्साहका साथ नै बिदा हुन चाहन्छु।'
उनले स्वास्थ्य सेवामा सबै नेपालीको सहज पहुँचका लागि आफूले यस क्षेत्रका सबै विज्ञसँग काम गरेर अघि बढ्ने बताएका छन्। उनले आफूले क्यान्सरजस्ता नसर्ने दीर्घ रोगहरुको नियन्त्रणमा काम गर्ने र स्वास्थ्य बिमाको प्रभावकारिताका लागि पनि काम गर्ने मन्त्री पौडेलले बताएका छन्।
'मन्त्रालय सुधार्न के गर्न सकिन्छ भन्नुहोला, सुटुक्क भन्नुहोला, आफ्नो बुद्धि विवेक, अनुभव र क्षमताका आधारमा भन्नुहोला। यहाँ ठूला कुरा गर्ने समस्या होलान् तर म जनताले सजिलोसँग स्वास्थ्य सेवा पाउनेतर्फ सानासाना काम गर्छु‚’ उनले मन्त्रालयको कार्यभार ग्रहण गर्दै भने‚ ‘स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने कसरी बनाउन सकिन्छ‚ त्यतातर्फ लाग्छु।एक महिनाभित्र संघीय सरकारमातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने अवस्था बनाउनेछौँ। व्यवस्थित स्वास्थ्य सुविधा अघि बढाउनेछौँ। ससाना काम अघि बढाउनेछौँ।'
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)