बुटवल,असार १७ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर र नेपालस्थित बेलायती दूतावासको टोलीबिच भेटवार्ता भएको छ । आइतबार दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशका सभामुखको कार्यकक्षमा भएको भेटमा बेलायती दूतावाससँगको सहकार्यमा लुम्बिनी प्रदेशमा गर्न सकिने कार्यक्रमको विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
नेपालस्थित बेलायती दूतावासको प्रशासन तथा सेवा प्रमुख डा.एन्ड्रय लङको नेतृत्वमा आएको बेलायती दूतावासको टोलीले लुम्बिनी प्रदेशमा प्रकृति संरक्षण, स्थानीय तहलाई भौतिक पूर्वाधार विकासमा सहयोग, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि, आर्थिक तथा वित्तीय क्षेत्रमा परामर्श सेवामा सहकार्य गर्न सकिने विषयमा परामर्श भएको थियो ।
त्यसक्रममा सभामुख घर्तीमगरले स्वास्थ्य र शिक्षामा तराईका जिल्लाहरूमा, प्रकृति संरक्षणमा पहाडी जिल्लाहरू र समग्र आर्थिक विकासमा लुम्बिनी प्रदेशलाई केन्द्रित गरि कार्यक्रम तय गर्न सुझाव दिए ।
चुरे शृङ्खला क्षेत्रमा वातावरण जोगाउँदै जनताको आधारभूत आवश्यकता आपूर्तिको लागी भौतिक संरचना निर्माण गर्न चुनौतीपूर्ण रहेको जानकारी गराउँदै सभामुख घर्ती मगरले यस क्षेत्रलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।भेटमा नेपालस्थित बेलायती दूतावासको प्रशासन तथा सेवा प्रमुख डा लङले सुझावअनुसार दूतावासले कार्यक्रम तय गर्ने आश्वासन दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)