Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले रुपन्देहीको अधिवेशन सर्‍यो,जेठ २३ र २४ गते हुने

एमाले रुपन्देहीको अधिवेशन सर्‍यो,जेठ २३ र २४ गते हुने

  • 1.0K
    SHARES

  • एमाले रुपन्देहीको अधिवेशन सर्‍यो,जेठ २३ र २४ गते हुने

    बुटवल,जेठ २ ।

    नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । यसअघि जेठ १६ र १७ गते तय भएको जिल्ला अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेकाले जेठ २३ र २४ गतेका लागि सारिएको हो । जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले पार्टीका अध्यक्षको समय नमिलेको र अन्य कार्यक्रम पनि जुधेकाले अधिवेशनको समय सारेको बताए ।

    उनले अधिवेशनको मिति सरेकाले प्रतिनिधि छनौटको समय पनि सर्ने जनाएका छन् । एमाले रुपन्देहीमा नेतृत्वका लागि अहिलेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिवद्वय चित्रबहादुर कार्की र हितराज पन्थीले बलियो दावेदारी पेश गरेका छन् । वर्तमान अध्यक्ष तेजेन्द्र केसीले पुनः दोहोरिने गरी तयारी गरेको र अनय विषयमा केही नसोचेको बताए ।

    ‘मेरो नेतृत्वमा पूरै समय काम गर्न पाइएन, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा बलियो गठबन्धनविरुद्ध राम्रो नतिजा निकाल्न सकियो, त्यही भएकै कारण पुनः दोहोरिने तयारीमा छु’, केसीले भने ।अध्यक्षका अर्का दावेदार गैरे भन्छन्, ‘पार्टीमा निरन्तर काम गरेपछि नेतृत्वको अपेक्षा स्वाभाविक हो, अध्यक्षपछि उपाध्यक्ष आकांक्षी नभएपछि सचिवको पालो स्वाभाविक हो, त्यहीअनुसार मैले तयारी गरेको छु ।’

    अर्को दावेदार चित्रबहादुर केसीले स्थानीय तहको अनुभव र पार्टीमा लामो समय गरेको त्यागका कारण नेतृत्वको दावेदार भएको बताएका छन् । उनी सैनामैनाका पूर्वमेयर हुन् । त्यसैगरी अहिले उपसचिव रहेका हितराज पन्थीले समकालीनमध्ये आफू सबैभन्दा पुरानो र भूगोलका हिसाबले दक्षिणी क्षेत्रमा लामो समय योगदान गरेकाले पनि पार्टी नेतृत्वको दावेदारी गरेका बताए ।

    नेतृत्वको विषयमा ४ जनाको दावेदारी परेकाले अन्य पदमा धेरै दावेदारी सार्वजनिक भएको छैन । तर सचिवमा बाबुराम पन्थी र युवराज घिमिरेले तयारी गरेका छन् भने उपसचिवका लागि धेरै जनाले आकांक्षा राखेका छन् ।

    एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मासहितका शीर्ष नेताहरुको गृहजिल्ला भएकाले पनि यहाँको पार्टी नेतृत्वलाई विशेष चासोका साथ हेरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology