बुटवल,पुस १६-
बिरामी कुर्न आएका व्यक्तिले ड्युटिमा खटिइरहेका डाक्टरमाथि हातपात गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुले अस्पतालमै धर्ना दिएका छन् ।
गत पुस १० गते राति अस्पतालको आकस्मिक कक्षमा बिरामी कुरिरहेका बिरामीकै छोराले अस्पतालको ईर्मेजेन्सी विभागका एक जना डाक्टरलाई हातपात गरेको र अन्य तीन जना प्यारामेडिक्सहरुलाई अपशब्द बोलेको भन्दै अस्पताल प्रशासनले प्रहरी समक्ष उजुरी गरेको थियो ।
६ दिन वित्दासमेत कारवाही नभएको गुनासो गर्दै यद्यपी, उजुरी उपर प्रहरीले कुनैपनि कारवाही अगाडि नबढाएको गुनासो गर्दै आकस्मिक कक्षमा काम गर्ने डाक्टर, प्यारामेडिक्स तथा कर्मचारीहरुले आज विहानदेखि आकस्मिक कक्षमा धर्ना दिएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।
‘डाक्टर तथा कर्मचारीहरुले सुरक्षाको माग गर्दै धर्नामा बस्नुभएको हामीले बुझेका छौ ।’ प्रवक्ता डा गौतमले बताए ।
दमको जटिल समस्या देखिएका बिरामीलाई उनका छोराले अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए । जाँचपछि डाक्टरले बिरामीलाई तत्काल भेन्टिलेटर आवश्यक रहेको तर अस्पतालमा बेड खाली नभएको भनी ब्रिफिङ गर्दै गर्दा उनले हातपात गरेको अस्पतालको आरोप छ ।
डाक्टरलाई हातपात गर्ने कुरुवालाई कारबाहीको माग राख्दै अस्पताल प्रशासनमा गएको र प्रशासनले प्रहरीमा उजुरी दिएपनि कुनै कानूनी कारबाही प्रक्रिया अघि नबढ्दा आफुहरु आन्दोलित हुन बाध्य भएको अस्पतालमा धर्ना दिइरहेका स्वास्थ्यकर्मीहरुले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)