गुल्मी,वैशाख २३ ।
गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ७ श्री जुनिया माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ।
गुल्मी जुनिया चिदिपानी तराई सम्पर्क समाज रुपन्देहीको आयोजनामा भएको शिविरमा ५०० भन्दा बढीले स्वास्थ्य सेवा लिएको क्रिमसन अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए।
चिकित्सकीय सेवाहरूमा हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर शेखरप्रसाद पोखरेल, जनरल फिजिसियन डाक्टर कृष्ण चन्द्र गोदार, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सन्दीप वर्मा, फेमिली फिजिसियन डाक्टर ढकबहादुर खत्री, मेडिकल अधिकृत डाक्टर यादव अर्याल, मेडिकल अधिकृत डाक्टर बिपिन अर्याल लगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
साथै उक्त शिविरमा निःशुल्क सुगर परीक्षण, निःशुल्क भिडियो एक्सरे सेवा, निःशुल्क इसीजी सेवा र निःशुल्क औषधि समेत वितरण गरिएको थियो।
शिविरको शुभारम्भ गर्दै सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले गरिएको यो स्वास्थ्य शिविर को कार्यक्रम सराहनीय भएको बताउनुभयो।
त्यस्तैगरी क्रिमसन अस्पतालका अस्पताल निर्देशक डाक्टर शेखर प्रसाद पोखरेलले आफूहरुले समय समयमा स्वास्थ्य सेवा उपलब्ध नभएका ग्रामीण भेगहरूमा स्वास्थ्य शिविर आयोजना गरिरहेको बताउँदै आफूहरू शिविरहरु मार्फत निरन्तर बिरामीहरूको सेवामा केही हदसम्म भएपनि मलमपट्टी लगाउनको लागि तत्पर रहेको बताउनुभयो र यसका साथै यी र यस्ता कार्यक्रमहरूका लागि क्रिमसन अस्पताल सदैव हातेमालो गर्न तयार रहेको समेत जानकारी दिनुभयो ।
साथै खत्री नर्सिंङ होमका डाक्टर डीबी खत्रीले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल,सत्यवती ७ का वडा अध्यक्ष लोकबहादुर बुढाथोकी वडा नम्बर ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली,मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण भट्टराई,आयोजक समितिका कोषाध्यक्ष ओम प्रकाश भण्डारी लगायतले आफ्नो भनाइ व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा गुल्मी जुनिया चिदिपानी तराई सम्पर्क समाज रूपन्देहीका अध्यक्ष कृष्ण थापाको अध्यक्षता,उपाध्यक्ष सुरेश थापाको स्वागत तथा सचिव खिम खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा खत्री नर्सिङ होम र क्रिमसन अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)