बुटवल,बैसाख १६ ।
चलचित्र सेतीबेणी यहि बैशाख २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्रबारे जानकारी दिन शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
बाबुराम घिमिरेको कथा लेखन तथा निर्देशनमा तयार भएको सामाजिक विषयवस्तुसहितको चलचित्र विश्वकै प्रसिद्ध धार्मिक स्थलको रूपमा परिचित सेतीवेणी र त्यहाँ रहेको विश्वकै ठूलो शिला शालिग्रामको धार्मिक, सामाजिक र साँस्कृतीक महत्वलाई समेटर निमार्ण भएको छ ।
चलचित्र बैशाख २९ गते बिहान ९ बजे बुटवलको मिलन चलचित्र हलमा पहिलो प्रदर्शन गर्ने तयारी गरीएको छ । मोफसलमा बसेर कलाकारीताका क्षेत्रमा काम गरीरहँदा समाजमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले यो चलचित्र निर्माण गरीएको निर्देशक घिमिरेले बताउनु भयो । धार्मिक आस्थाको केन्द्र, पर्यटकीय र ऐतिहासिक केन्द्र शिला शालिग्रामको अस्तित्वको संरक्षण, प्रचारप्रसार र विकास गर्न यो चलचित्रले महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो ।
बालबालिका देखि बृद्धबृद्धासम्म सबैले हेर्नैपर्ने चलचित्र बनेको दावि गर्दै निर्देशक घिमिरेले चलचित्र बोर्डबाट सेन्सर पास भइसकेको बताउनु भयो ।आन्तरिक तथा बाह्य पर्यटनको समेत महत्व बोकेको शिला शालिग्राम र सेतिबेणी क्षेत्रको महत्वलाई यो चलचित्रले प्राथमीकता दिएर प्रस्तुत गरेको सह निर्माता लक्ष्मी क्षत्रीले बताउनु भयो ।
चलचित्र स्याङ्जा, पर्वत, गुल्मी र पाल्पाका बिभिन्न ठाउँमा छायांकन गरीएको छ । चलचित्रमा युनिक पोखरेल निर्माता तथा लक्ष्मी क्षेत्री सह निर्माता रहेका छन् चलचित्रको सह निर्देशक कमल बहादुर गुरुङ हुन् भने चलचित्रमा नायक कृष्णप्रसाद खनाल र नायिका सम्झना सुबेदीको मुख्य अभिनय रहेको छ भने मनप्रसाद सुवेदी, सान्तराम गिरी, हरिहर श्रेष्ठ, मणिरत्न भण्डारी, जोखबहादुर खत्रि लगायतका कलाकारले अभिनय गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)