गुल्मी, बैसाख ५ ।
गुल्मीको छत्रकोट गाउँपालिकामा एक दिने उखु महोत्सव हुने भएको छ ।उखु खेतीलाई प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकामा वैशाख ७ गते उखु महोत्सव हुन लागेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए ।
गाउँपालिकाले गत वर्ष सुन्तला महोत्सव गरेको थियो । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले महोत्सवमा किसानले उत्पादन गरेका उखुका परिकारहरू जस्तै– खुदो, गुड लगायतका विभिन्न परिकार प्रदर्शन गरिने बताए ।
उखुलाई पेल्ने तरिका र गुड, खुदो तयार गर्ने तरिकाबारे किसानले नमुना प्रदर्शनसमेत गर्ने कार्यक्रम छ । छत्रकोटको हुँगा, हर्दिनेटा, दिगाम, खर्ज्याङलगायत स्थान उखुका पकेट क्षेत्र हुन् ।वडा नम्बर ४ का धेरै किसान उखु खेतीमा लागेको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रदिप पन्थले बताए । यहाँका करिब ३ सय जना किसानले उखु खेती गर्दै आएका छन् ।
किसानले आधुनिक मेसिनको प्रयोग गर्दै खुदो र गुड बनाएर आम्दानीको स्रोत बनाएका छन् ।अहिले गुडको बजार मूल्य प्रतिकेजी ३०० रुपैयाँ र खुदोको मूल्य १७५ रुपैयाँ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)