Logo बिहिवार, आश्विन १ गते २०८३
images

ललितपुर उवा संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत

ललितपुर उवा संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत

  • 2.1K
    SHARES

  • ललितपुर उवा संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत

    बुटवल,चैत २१।

    ललितपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको छ । सोमबाट काठमाण्ठौबाट निस्केको २० सदस्यीय ललितपुर उद्योग वाणिज्य संघको टोली पोखरा, स्याङ्जा, पाल्पा हुँदै बुधबार बुटवल आईपुगेको थियो । बुटवल उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा दुई संघ विच तालिम लगायत दुई पक्षिय हितका विषयमा सहकार्यमा जोड दिईएको छ ।

    ललितपुरको भ्रमण टोलीलाई स्वागत गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले २००९ सालमा तदर्थ समिति हुँदै २०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले त्यसयता यस क्षेत्रको व्यवसायिक विकास, आर्थिक विकास तथा सामाजिक विकासमा संघको तर्फबाट भएका प्रयास र त्यसका उपलब्धिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

    त्यस्तै उहाँले पछिल्लो समयमा मोतिपुर औद्योगिक क्षेत्रको स्थापना र निर्माणका लागि संघको तर्फबाट भएका प्रयासका बारेमा जानकारी गराउनु भयो । उहाँले देशभरका उद्योगी व्यवसायीहरुका साझा मुद्धाहरुमा सामुहिक प्रयासमा समेत जोड दिनुभयो । बुटवल उपमहानगरपालिका भन्दा पनि जेठो बुटवल उद्योग वाणिज्य संघले स्थानीय निकायमा जनप्रतिनीधि विहिन हुँदा स्थानीय निकायकै भूमिकामा काम गरेको स्मरण गर्नुभयो । त्यस्तै दुई संघविचको मित्रवत सम्वन्धलाई अझै प्रगाढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

    त्यसैगरी ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज वज्राचार्यले २०२३ सालमा स्थापना भएको ललितपुर उद्योग वाणिज्य संघ र बुटवलको काम गर्ने तौरतरिका समान रहेको बताउँदै सामाजिक, आर्थिक र धार्मिक कृयाकलापमा संघले काम गर्दै आएको जानकारी गराउनु भयो । उहाँले साना तथा मझौला उद्योगी व्यवसायीका विषयमा नेपाल उद्योग वाणिज्य महासंघ चुकेको बताउँदै त्यस विषयमा पनि महासंघलाई घचघच्याउनु पर्ने भनाई राख्नुभयो ।

    टोलविकास संस्था, एनजिओ, उद्योग वाणिज्य संघलाई एउटै संस्था दर्ता ऐन अनुसार दर्ता गर्ने कार्यले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा कुनै भिन्नता नभएको त्यसलाई फरक व्यवस्था गर्नको लागि पहल र पैरवी गर्न आवश्यक रहेको भनाई राख्नुभयो ।bbbbbbb.jpeg
    परम्परा, संस्कृति, धार्मिक जातजातीको कला संस्कृतिलाई समेटेर हस्तकला उत्पादन हुँदै आएको जानकारी गराउँदै उहाँले त्यसले ललितपुर टुरिजम हवको रुपमा विकास हुँदै गएको जानकारी गराउनु भयो ।

    उहाँले नेपालको हस्तकलाजन्य उत्पादनको ९० प्रतिशत हिस्सा ललितपुरमा उत्पादन हुने बताउँदै कलाकर्मीको पलायनले त्यसमा ह्रास आउँछकी भन्ने चिन्ता रहेको भनाई राख्नुभयो । उहाँले बुटवलले चाहेमा हस्तकलाको तालिममा सहकार्य गर्न ललितपुर तयार रहेको बताउँदै कसरी गर्न सकिन्छ थप छलफल गरेर अगाडि बढ्न सकिने भनाई राख्नुभयो ।

    त्यस्तै ललितपुरका निवर्तमान अध्यक्ष मनोजबहादुर नियाच्छुले काठमाण्डौसंगै जोडिएपनि ललितपुर काठमाण्डौको छायाँमा परेको बताउँदै साना उद्योगी व्यवसायीको मुद्धामा देशभरका जिल्ला नगर उद्योग वाणिज्य संघहरु एकजुट हुन आवश्यक रहेको भनाई राख्नुभयो ।

    त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनु भएका नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले महासंघले गरेको पहलकै कारण बैंक तथा वित्तिय संस्थाले दिने व्याजदरमा कमी आएको बताउँदै चैत भित्रमा एकल विन्दुमा आउने सम्भावना रहेको जानकारी गराउनु भयो ।  

    त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघको संस्थागत संरचना, संघले सञ्चालन गरेका परियोजनाहरु, ती परियोजनाहरुले गर्ने कार्यक्रम लगायतका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, कार्यसमिति सदस्य तथा बुटवल उपमहानगरपालिका वडा नं। ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल संघका सचिव प्रतिक पोखरेल लगायतले धारणा राख्नुभएको थियो ।

    त्यसैगरी यस अगाडि संघले सोमबार कोशी प्रदेशबाट आएका उद्योग वाणिज्य संघका कार्यालय प्रमुखहरुलाई पनि स्वागत गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वयमा कोशी प्रदेशभित्र रहेका उद्योग वाणिज्य संघमा काम गर्ने कार्यालय प्रमुखहरुको भ्रमण टोली मधेश, वागमती, गण्डकी हुँदै लुम्बिनी प्रदेश आएको थियो । उक्त टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले पनि भैरहवामा स्वागत गरेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology