बुटवल ,चैत्र १५ ।
परोपकार संस्था दान बिभाग शाखा बुटवलले ६९ औँ स्थापना दिवसको समापन समारोह सम्पन्न गरेको छ ।बुधबार रक्तदान कार्यक्रम गरेको संस्थाले बिहिबार विभिन्न ब्याक्तिहरूलाई सम्मान समेत गरेको छ ।
संस्थाका प्रधान सेवक गौतमलाल शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले परोपकार संस्थाको जग्गाको बारेमा समयमै टुंगो लगाउन वा कानुनी बाटो फुकाउन आग्रह गर्नुभयो । उहाँले बुटवलकै सबैभन्दा पुरानो संस्थाको बिकास र बिस्तारका लागि आफ्नो सबैप्रकारको सहयोग रहने बताउनुभयो ।
सो अवसरमा कार्यक्रममा संस्थाका केन्द्रीय द्वितिय उपाध्यक्ष गणेशप्रसाद बस्यालले परोपकारको भविष्य लामो रहेको बताउनुभयो ।दयाबिरसिंह कंसाकारले स्थापना गरेको मानविय सेवा अहिले विश्वभर फैलिएको धारणा राख्नुभयो ।
सो अवसरमा बुटवल वडा न १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतले एकले अर्काेलाई सहयोग गर्ने भावना नै परोपकार भएको बताउनुभयो ।
उहाले पारि बुटवललाई आगामी दिनमा चहलपहल बनाउने बताउनुभयो ।कार्यक्रममा परोपकार संस्था रूपन्देहीका अध्यक्ष महेन्द्र कुमार राज भण्डारी ,संस्थाका सचिव मदन कुमार श्रेष्ठ,मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपाल ,उपप्रधान सेवक राजकुमार श्रेष्ठ ,सम्मानितहरूका तर्फबाट सारदा ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
बुटवल १ स्थित पद्म चैत्य बिहारमा आयोजित कार्यक्रममा परोपकार संस्थालाई विभिन्न तहबाट सहयोग पुर्याउनुहुने पुर्व जिल्ला सभापतिहरू, ज्येष्ठनागरिक , आजिबन, सदस्य , सहयोगी, अक्षयकोष दाता,कर्मचारीलाई दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)