Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणाली शुभारम्भ

लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणाली शुभारम्भ

  • 1.4K
    SHARES

  • लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणाली शुभारम्भ

    बुटवल, चैत ११ ।

    गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न अबदेखि अनलाइन टिकट लिन सकिने भएको छ । लुम्बिनी विकास कोषले लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शनिबार शुभारम्भ गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुलाई दृष्टिगत गरी तयार पारिएको अनलाइन टिकेटिङ प्रणाली शुभारम्भ गर्नुभयो । 

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले सूचना प्रविधि विकासमा अनलाइनमार्फत टिकेटिङ गर्ने कार्यले पर्यटकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “इटिकेटिङले सबै प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्छ । लुम्बिनी विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र भएकाले यहाँ आउने धार्मिक र अन्य तीर्थयात्रुलाई इटिकेटिङले आकर्षित गर्ने छ ।” 

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधान सभा सदस्य डा। ल्हारक्याल लामा (खेन्पो छिमे) ले अनलाइन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकको सङ्ख्यासमेत वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । लामाले लामो लाइन लागेर टिकट लिनुपर्ने बाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताउनुभयो । उहाँले लुम्बिनी बौद्धमार्गीको मात्रै नभई, विश्वका सबै धर्म सम्प्रदायले आस्था राख्ने भएकाले यसको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । lumbini.jpg

    यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले पर्यटक लाइन लागेर टिकट काट्नुपर्ने समस्या अन्त्य गरिएको बताउनुभयो । लुम्बिनी विकास कोषको वेबसाइट ‘डब्लुडब्लुडब्लु डट लुम्बिनी डेभ ट्रस्ट डट जीओभी डट एनपी’ ‘लग इन’ गरेर इटिकेटमा गएपछि टिकट काट्न सकिन्छ । मुख्यगरी विदेशीले यसको उपयोग गर्ने कोषको विश्वास छ । 

    इटिकेटस्मा गएपछि नेसनालिटी, व्यक्तिको सङ्ख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनोट गरेपछि तोकिएको मूल्य भिसा कार्ड, बैङ्क, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिनुभयो । अहिले मायादेवी मन्दिर प्रवेश र तोकिएका अन्य सेवाका शुल्क राखिएको उहाँले बताउनुभयो । पेमेन्ट सहकार्य गरेको माछापुच्छ्रे बैङ्कका चिफ डिजिटिल अफिसर माधव सुवेदीले घरबाटै सुविधा लिन सकिने र क्युआरबाट विदेशी पर्यटकले टिकट काट्न मिल्ने गरी सुविधा दिइएको बताउनुभयो । 

    लुम्बिनी विकास कोषको गुरुयोजना पूरा गर्न निर्देशन :

    यसैबिच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषबारे जानकारी लिनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलो पटक शुक्रबार गैरआवासीय र वाणिज्यदूतको लुम्बिनी सम्मेलनका सन्दर्भमा लुम्बिनी आउनुभएका मन्त्री तामाङले शनिबार कोषका पछिल्ला गतिविधि र अवस्थाबारे जानकारी लिनुभएको हो । 

    उक्त अवसरमा मन्त्री तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेको बताउँदै यसलाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो । गुरुयोजना छिटो पूरा गर्न उहाँले आग्रह गर्नुभयो । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले तयार पारेको गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चितताका लागि आफूले पहल गर्ने बताउनुभयो । 

    मन्त्री तामाङले गुरुयोजनाविपरीत संरचना बनेको, युनेस्कोको असहमति रहेकाजस्ता विषय आइरहेकाले यसबारे आफ्नो ध्यानार्कषण भएको उल्लेख गर्नुभयो । लुम्बिनी विकास क्षेत्रको विकासका लागि उपाध्यक्षसहितको टिमसँग मिलेर काम गर्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले टिमवर्कले मात्रै नतिजा निकाल्न सकिने भन्दै यसतर्फ ध्यान दिनसमेत आग्रह गर्नुभयो । उहाँले लुम्बिनी विश्वका एक अर्ब बौद्ध समुदायको आस्थाको केन्द्र भएकाले पर्यटनमैत्री व्यवहारका लागि आफू लागिपर्ने बताउनुभयो । 

    बिफ्रिङमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे० ले लुम्बिनीमा आफू आएपछि केही सुधारका काम भइरहेको बताउँदै गुरुयोजनाका बाँकी काम पूरा गर्नका लागि पर्याप्त बजेटका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

    मन्त्रीसँगको छलफलमा सदस्यसचिव सानुराजा शाक्यले कोषको हालसम्मका गतिविधि र यसको कार्यक्षेत्रलगायतका विषयमा जानकारी दिनुभएको थियो । छलफलमा कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहारलगायतको सहभागिता थियो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology