कौरव खत्री / गुल्मी,चैत्र ११ ।
गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं १ रङनाम निवासी जगत बहादुर थापा र राधिका थापाका शारिरिक रुपमा अशक्त दुई सन्तान १३ वर्षीय जमुना थापा र ९ बर्षीय बिष्णु थापाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
शुक्रवार थापाको घरमै पुगेर विभिन्न दाताहरुबाट संकलित ४७ हजार ९ सय ३३ रुपैयाँ हस्तान्तरण गरिएको हो । जगत बहादुरका दम्पती समेत शारिरिक रुपमा अशक्त भएपछि उनीहरुको छोराछोरीको उपचारमा आर्थिक अभाव भएको थियो । उनीहरुको अवस्थाका बारेमा जिटिभि नेपालबाट प्रशारित कार्यक्रम संघर्षका कथा मार्फत भिडियो सामाग्री प्रशारण भएको थियो ।
उक्त समाचार सामाग्री हेरेर गोर्खा जिल्ला सहिद लखन गाउपालिका मनकामना स्थायी घर भई हाल नर्वेमा रहनुहुने रिता परियार ३४ हजार ६ सय रुपैयाँ र मुसिकोट नगरपालिका १ रंग्नाम स्थायी घर भएका समाजसेवी कृष्ण थापाको पहलमा संकलित १३ हजार ३ सय ३३ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
थापाका ३ सन्तान मध्ये २ सन्तान जमुना र बिष्णु जन्मजात शारिरिक रुपमा अशक्त रहेका छन् । उनीहरुका हात पछाडी फर्किएका छन् भने शरिरका अन्य अंगले पनि राम्रो संग काम गर्दैनन् । दैनिक मेलापात गरेर जिविकोपार्जन गर्दै आईरहेका थापा परिवारमा आर्थिक अभाव भएपछि उनीहरुको उपचार गर्न सकेका थिएनन् ।
दुई बालबालिकाको उपचारका लागि संकलित उक्त रकम हस्तान्तरण कार्यक्रममा बोल्दै आमा राधिका थापाले आफुहरुलाई देश विदेशबाट सहयोग प्रदान गर्ने सहयोगी प्रति धन्यवाद व्यक्त गरिन् । “भगवानले दुई भाई छोरा र एक छोरी त दिनुभयो तर म र बुढा पनि अपांग छोरा छोरी पनि अपांग यो भन्दा ठुलो पीडा अरु के होला ? सक्ने भए त उपचार गराउन लैजाने थिए तर हाम्रो अवस्थाले भेट्टाएन यी नानीहरुको उपचार भए त अरु संसारमा के चाहिन्थ्यो र ।” यो सहयोगले आफुहरुलाई धेरै ठुलो राहत मिलेको उनको भनाई थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी चन्द्र बहादुर के।सीले विभिन्न अभियानबाट संकलित रकमबाट अस्पतालसम्म लैजाने बताए । उनले देश विदेशमा आफ्नो छाक कटाएर साना नानी बाबुहरुको भविष्य उज्जवल होस् भनेर सहयोग गर्ने सहयोगीदाता प्रति धन्यवाद व्यक्त गरे ।
जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले हालसम्म देशका २ सय भन्दा बढी सामाजिक अभियान चलाएर दिनदुखीहरुलाई सहयोग गर्दै आउनुभएकी हाल नर्वे रहनुभएकी रिता परियार सहित सहयोगीदाता प्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं १ का कार्यवहाक वडाध्यक्ष बिष्णुध्वज खाती, स्थानीय समाजसेवी नारायण थापा, टंक बहादुर थापा लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिटिभि नेपालका सल्लाहकार कौरव खत्रीले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)