बुटवल,पुस ११-
साना तथा मझौला ढुवानी व्यवसायीहरुले आफुहरुलाई सरकारले हेयका दृष्टिकोणले हेरेको बताएका छन् । ठुलो संस्था र व्यवसायीहरुको पक्षमा सरकारले निर्णय गरेपनि साना तथा मझौला ढुवानीको काम गर्दै आएका व्यवसायीहरुलाई सरकारले नहेरेको उनीहरुको गुनासो छ ।
शनिवार बुटवलमा आयोजित लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको सातौ साधारण सभा तथा तेस्रो अधिवेसनमा बोल्दै व्यवसायीहरुले सरकारले साना व्यवसायीहरुलाई विस्थापितगर्ने गरी प्रालिको अवधारणा ल्याएको आरोप समेत लगाए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले व्यवसायीहरुको हितमा सरकारले काम गर्न नसकेको बताए ।साना होस् या ठुला व्यवसायीहरुलाई सरकारले ठोस कदम चाल्न नसकेको भन्दै उनले व्यवसायीहरुको संरक्षणका लागि व्यवसायीक एकतामा जोड दिए ।
भारतबाट नेपाली सडक क्षमता भन्दा दोब्बर सामन ढुवानी गर्दैै आएका ट्रकहरुलाई कारवाही नगर्दा नेपालका ढुवानी व्यवसायी समस्यामा परेको भन्दै उनले त्यसबाट ढुवानी व्यवसायीमात्रै प्रभावित नभएर नेपालका सडकहरुमा ठूलो क्षति पुगेको बताए । महासंघ साना तथा ठुला ढुवानी व्यवसायी सबैको साझा संस्था भएको भन्दै उनले आफु जहिले पनि साना ढुवानी व्यवसायीहरुको हितको पक्षमा रहेको दाबी गरे ।
नेपाल ट्रक यातायता व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक तथा पश्चिमाञ्चाल यातायाता ट्रक व्यवसायी संघका अध्यक्ष यम प्रसाद पाण्डेले ठूला गाडी जान नसक्ने ठाउँमा जानसक्ने भएकाले ठूला व्यवसायी भन्दा साना व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
स–सानो क्षेत्रमा काम गर्ने साना तथा मझौला व्यवसायीहरुले नै ठुलो व्यवसायीहरुले भन्दा सहज रुपमा काम गरिरहेको बताउदै उनले साना व्यवसायीहरुको समस्या समाधानका लागि आफु जहिले पनि तयार रहेको बताए ।
लुम्बिनी साना मझौला ढुवानी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लक्ष्मण क्षेत्रीले सबैभन्दा बढि पार्किङ्गको समस्या झेल्नुपनरेको भन्दै २-३ सय रुपैयाँ भाडा लिने व्यवसायीहरुले ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्दा समस्यामा परेको गुनासो गरे ।संस्थाको बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष क्षेत्रीले प्रालिमा जानुपर्ने सरकारको निर्णयले संघमा आवद्ध हुने व्यवसायीहरुको संख्या समेत घटेको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहाकार अधिवक्ता महेन्द्र प्रसाद पाण्डे, हरिष ढकाल, विकासजंग बस्नेत, लोक शुसिला अटोका सञ्चालक प्रतिक श्रेष्ठ, संस्थाका उपाध्यक्ष दिनेश थापा, महासचिव समुन सापकोटा लगायतले आ आफ्नो भनाई राखेका थिए । साधारणसभा तथा अधिवेसनमा उत्कृष्ठ व्यवसायीको रुपमा राजु पौडेल, उत्कृष्ठ स्वरोजगार व्यवसायी जगन्नाथ बस्याल, उत्कृष्ठ चालक ईन्द्र प्रसाद कहार लाई सम्मान गरिएको थियो ।
दिनेश थापाको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन :
७ औँ साधारणसभा तथा अधिवेशनबाट दिनेश थापाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ समिति चयन भएको छ ।नयाँ निर्वाचित समितिको उपाध्यक्षमा सुमन सापकोटा, महासचिवमा पदम शर्मा भण्डारी, सचिवमा रविन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्षमा नविन पाखरेल र सह सचिवमा सुन्दर थापा मगर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सुमन कुमार तिमिल्सीना, दिपक तामाङ्ग, धर्मराज जैसी, रेशमराज बज्राचार्य, गोरख बानिया, परशनाथ केशरी, राम प्रसाद शर्मा चयन भएका छन् भने लेखा संयोजकमा गोपाल पाण्डे चयन भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)