बुटवल,चैत १ ।
नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकैपटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यसप्रकारको नयाँ कार्यक्रम थालिएको एमालेको भनाइ छ । यहीँ चैत ५ गते हुने यस्तो परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको छ ।
निस्कृय सदस्यलाई कृयाशील र जवाफदेही बनाउन यो कार्यक्रम थालिएको भएपनि पहिलोपटक अनुत्तीर्णलाई पुनः अवसर दिइने र पटकपटक असफल भए पार्टीबाट बिदा गरिने रणनीति बनाइएको एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् । प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते वडा कमिटीमा परीक्षा लिइने छ । यसमा प्रदेशभरका ८६ हजार २ सय ६० जना नेता-कार्यकर्ताहरू सहभागी हुनेछन् ।
अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी गराइन्। ‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ,लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं’ उनले भनिन् । उनले पार्टीलाई सांगठिनकरूपमा बलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिने कामले हरेक पक्षमा सुधार हुने र
परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने जानकारी दिइन् ।
जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ । प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले सबै वडा तहमा यसको तयारी भएको र त्यसले पार्टीलाई नै उर्जा थप्ने विश्वास लिएको बताए । प्रचार विभाग प्रमुख डिआर घिमिरेका अनुसार अहिले १२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी हुने जनाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)