बुटवल,फागुन २७ ।
गुल्मीका एक युवा २३ दिनदेखि बेपत्ता भएका छन् । छत्रकोट गाउँपालिका-१ हुंगा घर भएका २५ वर्षीय अनुप पौडेल बेपत्ता भएका छन् । सुनसरीको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ् कलेजमा अध्ययनपश्चात् कामको सिलसिलामा फागुन ४ गते धरानबाट बेपत्ता भएका हुन् ।
कामको सिलसिलामा धरान ८ लांघाली चौकको डेरामा बस्दै आएका पौडेल फागुन ४ गतेबाट सम्पर्कविहीन भएको परिवारजनले बताएका छन्। बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय धरानमा फागुन ११ गते खोजतलास गरिदिन परिवारले उजुरी दिएको छ ।
पौडेलका बुवा अनन्त पौडेलले छोरा पढ्न धरान गएको र कामको क्रममा सम्पर्कविहीन भएपछि खोजतलासका लागि आफू धरान पुगेको र प्रहरीमा उजुरी गरेको बताउनुभयो ।
प्रहरीले खोजी भइरहेको प्रतिक्रिया मात्रै दिएको तर हाल छोरा के कुन अवस्थामा भन्ने बारेमा केही जानकारी नदिएकाले चिन्तामा डुबेको बताउनुभयो । उता इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार बेपत्ता वा हराएको भनिएको पौडेलको खोजतलास र अनुसन्धानका लागि प्रहरी निरीक्षक भीमराज राईको नेतृत्वमा पाँच सदस्य प्रहरी टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाका बारेमा खोजतलासका लागि उजुरी आएपछि प्रहरीले खोजी कार्यलाई तीव्र पारिए पनि हालसम्म फेला नगरेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)