बुटवल,फागुन १७ ।
नेपाल जेसिज र राष्ट्रिय युवा परिषदबिच युवा नेतृत्व विकास र नीति प्रवर्द्धनका साझा क्षेत्रमा काम गर्ने समझदारी भएको छ।
चितवनको सौराहामा आयोजित जेसिजको २०२४ को नेसनल काउन्सिलर्स एकेडमीको उद्घाटन समारोहमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलले हस्ताक्षर गरेका छन् । उपाध्यक्ष बस्नेतले युवाको क्षेत्रमा विगत ६ दशकदेखि निरन्तर क्रियाशील नेपाल जेसिजसँगको सहकार्यले युवा विकासमा सकारात्मक आयाम थपिने बताए।
नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलले युवाको क्षेत्रमा कार्यरत आधिकारिक सरकारी निकायसँगको सहकार्यले नेपाल जेसिज उत्साही भएको बताए । पोखरेलले आफ्नो कार्यकालमा परिषद्सँग मिल्न सकिने विषयमा मिलेर काम गर्ने बताए ।समझदारी पत्रमा युवालाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अधिकतम सहभागी गराउन, युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुर्याउन र समयानुकूल युवा नीति निर्माण गर्न सहकार्य गरिने उल्लेख छ ।
कार्यक्रममा वागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले युवाका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताइन् । मन्त्री मोक्तानले युवाका साझा समस्या समाधानका लागि साझा प्रयास आवश्यक भएको बताइन् ।समारोहमा चलचित्र नायक राजेश हमाल, वाग्मती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलगाईं लगायतको उपस्थिति थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)