बुटवल,पुस १०-
प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ ।
त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा पुगेका मन्त्रिपरिषद् हेरफेरमा पूर्वमाओवादी नेताहरुको बाहुल्य रहेको छ ।
नेता टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङ र विमला विकले प्रचण्डको साथ छाडेर केपी ओलीलाई साथ दिएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा पनि उपस्थित थिए ।

नेकपा प्रचण्ड–नेपाल पक्षका बहुमत सांसदहरु काठमाडौंको माइतीघरमा प्रदर्शनमा
बुटवल,पुस १०-
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्ष निकट बहुमत सांसदहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि औपचारिक रुपमै फुटिसकेको नेकपाका बहुमत केन्द्रीय सदस्य र सांसदहरुले सांसदहरु जिउँदै रहेको भन्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा निवेदन दिनका लागि माइतिघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले गरेका छन् ।
बिहान साढे ९ बजेदेखि आयोजित प्रदर्शनमा नेताहरुले छातीमा हामी यहीँ छौं नारा लेखिएको प्लेकार्ड टाँसेका छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै नाराबाजी समेत गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)