बुटवल,फागुन ७ ।
गुल्मीको रूरूक्षेत्र रिडी माबिमा पूर्व बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । सोमबार बिद्यालयमै एक समारोहको आयोजना गरि बिस. २००७ सालदेखि २०७९ सम्मका सबै बिद्यार्थीहरुको जमघट भएको हो ।
सो अवसरमा मरणोपरान्त,पूर्व शिक्षक-शिक्षिका,कार्यरत शिक्षक-शिक्षिका तथा कर्मचारीलाइ समेत प्रशंसापत्रले सम्मान गरिएको थियो । पूर्व बिद्यार्थी समुह संयोजक राजु राणा मल्लको अध्यक्षतामा भएको सो कार्यक्रममा सोही बिद्यालयका पूर्व बिद्यार्थी पूर्वमन्त्री प्रदीप ज्ञवालीले शिक्षाको मूल जरा बिद्यालय नै भएको भन्दै शैक्षिक क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो । रिडीमा बिकासले गति लिएको तर बस्ति पातलो बन्दै गएकोमा दुख ब्यक्त गर्नुभयो ।

पूर्व राज्यमन्त्री हरिप्रसाद पाण्डेयले बिद्यालयलाइ रू १ लाख सहयोग गर्ने वचन दिनुभयो । पूर्व शिक्षक तिलकराम आचार्यले आफूले पढाएका बिद्यार्थी ज्ञानले भरिएका बिद्यार्थी देख्न पाउँदा निकै खुसी लागेको उल्लेख गर्नुभयो ।
प्राचार्य रोहीत भण्डारीले बिद्यालयको सबै सुचक सकारात्मक रहेको भन्दै समाजले रिडी माबिलाइ गरेको माया सधै रहनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा पूर्व शिक्षिका लालकुमारी बुढाथोकी,पूर्व बिद्यार्थी भागिरथी श्रेष्ठ,बर्तमान शिक्षक खुमप्रसाद मरासिनी लगायतले बोल्दै रिडी माबिको भौतिक तथा शैक्षिक बिकासका लागि सबैले हातेमालो गर्ने बताउनुभएको थियो ।





माविको स्थापना काल २००७ सालदेखि गत बर्ष २०७९ साल सम्मका पूर्व बिद्यार्थीहरुको बृहद सम्मेलनले घोषणापत्र समेत जारी गरेको र ६ महिनाभित्रमा स्मारिका प्रकाशन गर्ने ,नयाँ समिति निर्माण गर्ने तथा भूपू बिद्यार्थीबिचको एकतालाइ थप बलियो बनाउने राजु राणा मल्लले बताउनुभयो । कार्यक्रममा दाताहरूले अक्षयकोष समेत घोषणा गर्नुभएको थियो ।

पूर्व बिद्यार्थी एवं पत्रकार कपिल ज्ञवाली र अनुपमा श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा पूर्व बिद्यार्थी एवं नेपाल राष्ट्र बैँकका पूर्व निर्देशक डा बिष्णु गौतमले सहभागि र नाम दर्ता भएका बिद्यार्थीहरूको सम्मानको सहजीकरण गर्नुभएको थियो भने पूर्व बिद्यार्थी एवं त्रिभुवन विश्वबिद्यालयका सहप्राध्यापक रामेश्वरमान बजिमयले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रम अघि बाजागाजासहितको प्रभातफेरिले बजार परिक्रमा गरेको थियो भने बिद्यार्थीले नाचगान समेत गरेका थिए ।



नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)