काठमाडौं,फागुन ६ ।
प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले ‘मिल्क होलिडे’ को समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद घिमिरेले भारतबाट दुध तथा दुग्धजन्य पदार्थ भैरहेको चोरी पैठारीलाई तत्काल रोक्न सकिएन भने नेपालमा देखिएको दुधको समस्यालाई समाधान गर्न गाह्रो हुने स्पष्ट पार्नुभयो ।
‘बजारमा आपूर्ति नभएको जनाउँदै दुग्ध विकास संस्थानले किसानको दुध खरिद गर्न छाड्दा मुलुकका धेरै स्थानमा मिल्क होलिडेको अवस्था सिर्जना भएको छ । संस्थानले किसानलाई दूधको भुक्तानी नदिएको तीन महिना भैसकेको छ । संस्थानले भुक्तानी रोक्दा दुई लाखभन्दा बढी किसान मर्कामा छन् भने मिल्क होलिडे हुँदा किसान गाईभैंसीपालन व्यवसायबाटै पलायन हुने जोखिम बढेको छ ।’ उहाँकाे भनाइ छ ।
कतिपय प्रदेश र स्थानीय सरकारले दूध उत्पादन बढाउन किसानलाई अनुदान दिँदै गर्दा मिल्क होलिडेको अवस्था सिर्जना हुनु दुःखद् रहेको बताउँदै सांसद घिमिरेले यो विषयप्रति संघीय सरकार संवेदनशील बन्नुपर्ने बताउनुभयो ।
अर्थतन्त्रमा ९ प्रतिशतभन्दा बढी योगदान गरिरहेको र लाखौं किसानको रोजीरोटीसँग जोडिएको दूग्ध क्षेत्रको विद्यमान समस्या समाधानमा गम्भीर बन्न उहाँल सरकारलाई आग्रह गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)