बुटवल,माघ १७ ।
सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीले साहित्यकारहरुलाई सम्मान गरेको छ ।
८३ औं सहिद दिवस तथा सिसासको २० औं वार्षिकोत्सव समारोहमा सिर्जनशील श्री फाइनान्स पुरस्कारबाट डाक्टर मुरारी पराजुली नगद रु. १५ हजार ५ सय ५५ सहित सम्मानित भएका छन् ।सिर्जनशील साहित्यिक पुरस्कारबाट माटो कविता संग्रहका सर्जक तथा सिर्जनशील साहित्यिक समाज(सिसास)का निवर्तमान अध्यक्ष शशि पन्थी नगद रु. २१ हजार रुपैयाँसहित सम्मानित भएका छन् । त्यसै गरी सिर्जनशील गंगा साहित्यिक पुरस्कारबाट डा. टंक पन्थ नगद रु. ११ हजार १ रुपैयाँसहित सम्मानित भए ।
सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कारबाट नगद रु. ५ हजार ५ सय ५५ नगदसहित राजेश कुमार चौधरी, सिर्जनशील छबिलाल साहित्यिक पुरस्कारबाट रु. २ हजार १ सयसहित केशव शर्मा बेल्बासे, सिर्जनशील साहित्यिक समाजले सिक्किम भारतका कवि तथा पत्रकार अमर लाछिकाठि गुरुङलाई नेपाली भाषाको क्षेत्रमा योगदान गरेको भन्दै सम्मान गरेको छ ।
त्यसै गरी सिर्जनशील काशी प्रतिभा पुरस्कारबाट भैरहवा नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी साक्षी शुक्ला नगद रु. ५ हजारसहित सम्मानित भएकी छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार ऋषिराम भुसालले भैरहवा भाषा साहित्यको लागि उर्भरभूमि भएको बताए ।
प्रा.डा. कपिलदेव लामिछानेले साहित्य सिर्जना आत्मसन्तोषको विषय भएको बताए । सम्मानित भएका स्रष्टा डा. मुरारी पराजुलीले रुपन्देहीको साहित्यको इतिहासमा भैरहवाले सदैव नेतृत्व गरेको बताए ।
सिर्जनशील गंगा साहित्यिक पुरस्कारबाट सम्मानित स्रष्टा डा. टंक पन्थले भैरहवा र सिर्जनशील साहित्यिक समाजले धेरै स्रष्टा सम्मान गर्दै २० औं वर्षको अवधिमा धेरै साहित्यिक कार्य गर्नु प्रशंसनीय कार्य भएको बताए । सिसासका अध्यक्ष कमल पोख्रेलको अध्यक्षता, उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तव्य तथा सचिव विष्णु प्रसाद गजुरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)