बुटवल,पुस ७-
बुटवल उपमहानगरपालिकाद्वारा चालू आर्थिक वर्ष २०७७-०७८ मा सञ्चालित विभिन्न आयोजनाहरूको प्रथम चौमासिक समीक्षा भएको छ । शहरी पूर्वाधार विकास, पशुपंक्षी विकास, कृषितर्फका धेरै योजनाहरूमा उलेख्य उपलब्धी हाँसिल गरेको उपमहानगरको दाबी छ ।उपमहानगरले आन्तरिक आयतर्फको लक्ष्य प्रथम चौमासिकसम्म ७५ प्रतिशतसम्म हाँसिल गरेको बताएको छ ।
चालू आवमा क्रमागत भई आएका शहरी पूर्वाधार विकासका आयोजना हालसम्म ८४ वटा सम्पन्न भएका छन् । आव २०७७-०७८ मा दुई सय ८९ वटा आएका थिए । विकास योजनालाई प्राथामिकता दिएर अगाडि बढेको उपमहानगरपालि यस वर्ष २५ वटा नयाँ योजना अगाडि बढाएको थियो । उपमहानगरमा चालूतर्फ सञ्चालित दुई वटा आयोजना पनि सम्पन्न भइसकेका जानकारी गराइएको छ ।
उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले चालू आवको प्रथम चौमासिकसम्म ८४ योजना सम्पन्न भएको जानकारी गराइन । आचार्यले कोरोना महामारी नियन्त्रणका लागि उपमहानगरका काममा निजी क्षेत्र तथा संघसंस्थाले महत्वपूर्ण सहकार्य गरेको भन्दै प्रशंसा समेत गरिन् ।
उपमहानगरले पशुपंक्षीतर्फ पशु आहारा सेवा कार्यरक्रममा हिउँदे जौं सात सय केजी तथा वार्षिक एक हजार केजी, घासको बीउ दुई सय ४१ जना कृषकलाई बितरण गरेएको छ ।
प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आन्तरिक आयतर्फ प्रथम चौमासिकसम्म ७५.०२ प्रतिशत लक्ष्य हाँसिल भएको जानकारी दिए ।नगरसभा एवं नगर कार्यपालिकाबाट हालसम्म १६ वटा ऐन, ९ वटा नियमावली र ६ वटा निर्देशिका र ३२ वटा कार्यविधि ४ वटा राजपत्रमा प्रकाशित गरी प्रकासन समेत गरिसकेको छ ।
नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण मापदण्डसम्बन्धी निर्देशिका-२०७७ जारी गरिएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)