बुटवल,माघ ११ ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदबार बिजयी भएका छन् । गठबन्धबाट ५२ जना उम्मेदवार थिए। सत्ता गठबन्धनले सबै प्रदेश र एमाले-राप्रपाले कोशी प्रदेशमा तालमेल गरेका थिए।
अन्तिम मत परिणामअनुसार कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भए।मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन्।
बागमतीमा नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादी केन्द्रबाट श्रीकृष्णप्रसाद अधिकारी र नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भएका छन्।

गण्डकी प्रदेशबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन्।
लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले राष्ट्रिय सभा निर्वाचन जितेको निर्वाचन आयोगले जनाएको छ।
कर्णालीमा एकीकृत नेकपा समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् भने सुदूर पश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त तथा माओवादीका रेणु चन्दले चुनाव जितेका छन्। निर्वाचन आयोगका अनुसार १९ सिटका लागि बिहीबार चुनाव भएको हाे ।
यी पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)