बुटवल,पुस २२ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गूरुकुल विद्याश्रममा आयोजना गरिएको महायागमा दर्शन गर्नुभएको छ । शनिबार दिउँसो धाममा आउनु भएका उहाँलाई स्थानीयले फूलमाला दिएर स्वागत गरेका थिए । पुर्वराजा शाह सडकबाट हिड्दै स्थानीयले दिएको फूलमाला ग्रहण गर्दै धाममा पुग्नु भएको थियो ।
उहाँलाई स्वागत गर्न पुगेका स्थानीयले राजा आउ देश बचाउ भन्दै नारा लगाएका थिए । शाहले धामको मुख्य मन्दिरमा केही समय पुजासमेत गर्नुभएको थियो । राष्ट्रकल्याणको लागि ३ महिनासम्म चल्ने महायागमा पुर्वराजाले दर्शन गर्नुभएको धामका अध्यक्ष देवमाया भट्टराईले जानकारी दिनुभयो ।
राजसंस्था र हिन्दुराष्ट्र कायम गर्नको लागि आयोजना गरिएको महायागमा पूर्वराजाको उपस्थितीले उत्साह थपिएको उहाँले बताउनु भयो । पुस १ गतेदेखि सुरु गरिएको महायागमा शिवशक्ति, अतिरुद्री, अचुतचण्डी ३ महिनासम्म निरन्तर पाठ हुने अध्यक्ष भट्टराईले बताउनु भयो ।
यो महायाग अति नै शक्तिशाली र कठिन अनुष्ठान भएको उहाँले बताउनु भयो । पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित धाममा सञ्चालन भएको तीन महिने महायाग चैत ४ गतेसम्म चल्ने प्रचारप्रसार विभागका संयोजक गणेश पौडेलले जानकारी दिनुभयो । धाममा १३ औ पटक हुन लागेको महायागमा १ सय २१ जना ब्राह्मणबाट ३ महिना अवधिभर नै बेदका रिचा, पुराणका उपासना मन्त्रजप गरिने छ । महायाग सफल बनाउन १९ वटा उपसमिति गठन गरिएको धामका उपाध्यक्ष रूपसिं थापाले जानकारी दिनुभयो । धाम परिसरमै रहेको गुरुकुलमा कक्षा ६ देखि १२ कक्षासम्म हाल ७५ जना छात्रहरु अध्ययन गरिरहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)