बुटवल,पुस २२ ।
नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको जितगढी किल्ला संरक्षण र पुनर्निर्माणपछि नेपाली सेनाले यहि २० गते बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्यो ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई किल्ला हस्तान्तरण गर्नुभएको हो । गरुड दल गणले संरक्षण र पुनर्निर्माण गरेको किल्लाको संरक्षण, प्रवर्द्धन र सञ्चालनको जिम्मा अब बुटवल उपमहानगरपालिकाले पाएको छ ।
बुटवल नगरपालिकाको वडा नम्बर १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा छ । जितगढीमा १८७२ सालको वैशाख ७ गते नेपाली सेना र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । कर्णेल उजिरसिंह थापाको कमान्डमा तैनाथ नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको थियो ।
पुस २० भएको किल्ला हस्तान्तरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्ने बताउनुभयो । उहाँले जितगढी नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनुभएको छ । जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान पुग्ने उहाँको भनाइ छ ।
किल्ला हस्तान्तरणपछि मेयर खेलराज पाण्डेयले जितगढी किल्लालाई युद्ध सङ्ग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अङ्ग्रेज युद्धको अध्ययनस्थलको रूपमा विकास गर्ने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)