Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अब सरकारको कार्यशैली बदलिने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा

अब सरकारको कार्यशैली बदलिने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा

  • 2.0K
    SHARES

  • अब सरकारको कार्यशैली बदलिने प्रधानमन्त्री पुष्पकमल दाहालको  घोषणा

    काठमाडौं,पुस १० ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन् ।

    सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटी अनुसारको परिणाम पनि आएन। म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ ।’

    केही पूर्व निर्धारित र अपरिहार्यबाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा रहेको जानकारी दिँदै उनले सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानविन्दु हुनेछ भन्ने स्पष्ट पारे । ‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दै छु, सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ,’ उनले भने ।

    उनले पूर्वाधार विकासमा जताततै समस्या देखिएको उल्लेख गरे । उनले थपे, ‘रूख कटानीको प्रक्रिया अत्यन्त जटिल छ । वनको भोगाधिकार र जग्गाप्राप्तिमा त्यस्तै जटिलता छन् । नागरिकको जग्गाप्राप्तिमा पनि थुप्रै समस्या छन् ।

    अब म एक-एकवटा कामलाई बेग्लाबेग्लै डालोमा राख्ने अनि समस्याको जरो छाडेर हाँगा छिमोल्ने गल्ती गर्दिनँ, बरु कार्यतालिका र समयतालिका नै बनाएर र सबै सरोकारवालालाई एक ठाउँमा राखेर समग्र पूर्वाधार विकासका कानुनी, नीतिगत र प्रक्रियागत जटिलताको दीर्घकालीन हल खोज्छु । एकले अर्कोलाई देखाएर देशको विकास अवरुद्ध गर्ने प्रवृत्ति अन्त्य गर्छु ।पूर्वाधार विकासलाई आवश्यक परे संकटकाल नै घोषणा गरेर भएपनि उच्च प्राथमिकता दिनुपर्छ भन्ने मेरो विश्वास छ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology