अर्घाखाँची,मङ्सिर ८ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको बताएका छन् ।
उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्।नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताए।
१८-२० वर्ष पहिले नेपालको परिस्थिति एकदमै जरजर रहेकोमा कांग्रेसको नेतृत्वमा हाल प्राप्त उपलब्धिलाई गुम्न नदिन सबै जागरुक हुनुपर्ने महरले बताए।सबैको साझा मुलुक बनाउनका लागि नेपाली कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रियाको गति अगाडि बढेको र पछिल्लो लोकतान्त्रिक गणतन्त्र स्थापित भएको कसैले भूल्न नहुने उनले बताए।
अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन्। सबैका विचार अटाएका छन्। फरक प्रसंगमा बोल्दै नेता महरले जलवायु परिवर्तन र भूकम्पका हिसावले नेपाल प्राकृतिक बहुप्रकोपिय जोखिममा रहेको तर्फ चिन्ता व्यक्त गरे। परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा र समय तालिकामा व्यापक परिवर्तन भइ तापक्रम वृद्धि भइरहेको उनले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)